अग्निपीडितलाई मङ्गलसेन नगर प्रमुखले एक महिनाको सेवासुविधा दिने
अछाम । मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जयगढका अग्निपीडितलाई एक महिनाको सेवासुविधा प्रदान गर्ने घोषणा गर्नुभएको छ । छिमेकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा बुधबार राति भएको आगलागीबाट आफू स्तब्ध भएको बताउनुहुँदै उहाँले पीडितलाई सहयोग स्वरूप एक महिनाको सेवा सुविधा अग्नीपीडितलाई प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
काम विशेषले जिल्ला बाहिर रहेकाले उद्धार कार्यमा संलग्न हुन नसकेको भन्दै बोहराले सबै क्षेत्रबाट आवश्यक सहयोगका लागि अपिल गर्नुभएको छ ।“सबैले स–सानो सहयोगबाटै पीडितलाई राहतको महसुस हुने भएकाले सबैले सक्दो सहयोग गर्न अनुरोध गर्दछु ।” बोहराले भन्नुभयो ।
बोहराले सामाजिक सञ्जालमा लेख्नुहुँदै आगामी दिनमा यस्ता घटनाबाट सबैले सचेत र सजग रहन समेत जरुरी रहेको उल्लेख गर्नुभएको छ । जयगढको मुख्य बजारमा भएको आगलागीमा नियन्त्रणमा लिन सहयोग गर्ने सुरक्षाकर्मीलगायत सबैमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
बुधबार बेलुकी बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा आगलागी हुँदा २७ घरपसल जलेर नष्ट भएको र सात करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको अछाम प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
स्थानीय पुष्पराज शर्माको आइएमआई केन्द्रबाट ग्यासबाट आगलागी सुरु भएर बजार र बजार नजिकै रहेको खरबारीमा समेत पसेको थियो । आगलागी भएको पाँच घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया