केएमसीमा नेविसंघकी बागी उम्मेदवार अम्बिकालाई ज्यान मार्ने धम्की

  सोमबार २५, चैत २०८१ ०६:२३

धनगढी । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन नजिकिँदै गर्दा नेपाल विद्यार्थी संगठनमा बिद्रोह गर्दै स्वतन्त्र विद्यार्थी एकता समूहबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी अम्बिका चौधरीले गम्भीर आरोप सार्वजनिक गरेकी छिन्।

उनले आफ्नो समूहका केही उम्मेदवारहरूलाई अराजक तत्वहरूले ज्यान मार्ने धम्की दिएर अपहरण गर्ने नियतले उम्मेदवारी फिर्ता गराएको बताएकी छन्।

यस्तै आफूलाई पनि लोभलालच देखाउनेदेखि धम्क्याउने र डराउनेसम्मको क्रियाकलाप गरिएको उनको ठहर छ। उनले फेसबुकमार्फत सो कुरा सार्वजनिक गरेकी छन्। “म अत्यन्त दुःखी छु तर डराएको छैन, हिम्मत हारेकी छैन,” चौधरीले एक अपिलमार्फत भनिन्, “मलाई पनि पटक–पटक धम्की, लोभ र प्रलोभन दिइयो तर म अडिग रहेँ।”

उनले क्याम्पसका विद्यार्थीहरूलाई आह्वान गर्दै भनेकी छिन्, “कसैले पनि लोभ, डर वा धम्कीका कारण आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ। मलाई विश्वास छ, विद्यार्थीहरूले अन्यायविरुद्धको मत हाल्नेछन्।”

चौधरीले आफूलाई महिलाका रूपमा र चौधरी समुदायकी छोरी भएको कारण उम्मेदवारीका लागि अवरोध सिर्जना गरिएको आरोप पनि लगाएकी छिन्। “मलाई टिकटबाट वञ्चित गरियो, तर म टुटिनँ। म विद्यार्थीहरूको आशा र भरोसाका लागि उम्मेदवार बनेकी हुँ,” उनले भनिन्।

उनले केही दुषित मानसिकता भएका व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिएको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजेको पनि आरोप लगाएकी छन्।

अन्त्यमा उनले उम्मेदवारी फिर्ता लिएका आफ्ना साथीहरूलाई धन्यवाद दिँदै अझै पनि साथ र सहयोगको अपेक्षा व्यक्त गरेकी छिन्।

चौधरी यस अगाडि नेविसंघबाटै स्ववियुमा निर्वाचित भएकी थिइन् तर अहिले भने नेविसंघले सन्तोष पन्तलाई उम्मेदवार बनाएको छ। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। कैलाली बहुमुखी क्याम्पसमा २७ चैतमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन हुँदैछ।

clock सोमबार २५, चैत २०८१ ०६:२३

प्रतिक्रिया