बैतडी कांग्रेसको पालिका सम्मेलन जेठ ३० गते

  सोमबार २२, जेठ २०८० १०:०७

बैतडी । नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै पालिकाको सम्मेलन जेठ ३० गते तोकेको छ । सम्मेलनका लागि सबै पालिकामा प्रतिनिधि खटाइएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

सम्मेलनका पुर्चौडी नगरपालिकामा कांग्रेस जिल्ला सचिव देवराज जोशी, सिगास गाउँपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्द, पाटन नगरपालिकामा जिल्ला उपसभापति वीरबहादुर विष्ट, सुर्नया गाउँपालिकामा प्रदेशसभा (२) का क्षेत्रीय सभापति शिवराज भट्ट, डिलाशैनी गाउँपालिकामा जिल्ला सहसचिव दशरथ चाडलाई प्रतिनिधिका रूपमा खटाइएको छ । 

दोगडाकेदार गाउँपालिकामा जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, दशरथचन्द नगरपालिकामा जिल्ला उपसभापति खगेन्द्रसिंह धामी, पञ्चेश्वर गाउँपालिकामा प्रदेशसभा (१) का क्षेत्रीय सभापति विष्णुदत्त भट्ट, शिवनाथ गाउँपालिकामा जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्द र मेलौली नगरपालिकामा पूर्वपार्टी सभापति नरेन्द्रसिंह थापालाई प्रतिनिधिका रूपमा खटाइएको पार्टीले जनाएको छ । 

पालिका सम्मेलन पूर्व हाल जिल्लामा सबै वडामा वडा सम्मेलन जारी रहेको छ । दोगडाकेदारका सबै वडामा हाल वडा सम्मेलन जारी रहेको पालिका सभापति नन्दराज भट्टले जानकारी दिए ।

सम्मेलनमा कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा सम्मेलनमा छलफल हुने गरेको जनाइएको छ । पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा पनि सम्मेलनमा छलफल भइरहेको छ ।

सभापति चन्दले भने, ‘वडा तहमा पार्टीको संरचना र पार्टी सुदृढीकरण, संगठन विस्तारका लागि सम्मेलन थालिएको हो । यसले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।’

clock सोमबार २२, जेठ २०८० १०:०७

प्रतिक्रिया