कैलालीको गेटामा चिकित्सा शिक्षाको पढाई हुनुपर्ने एमालेको माग
धनगढी । नेकपा एमाले सुदूरपश्चिमले गेटामा अर्को आर्थिक वर्ष देखि चिकित्सा शिक्षाको पढाई हुनुपर्ने माग गरेको छ।
धनगढी आएका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन।
एमालेले प्रधानमन्त्री ओलीलाई चार बुँदे मागपत्र बुझाउदै भनेको छ ‘विश्वविद्यालयका पदाधिकारीको नियुक्ति, दरबन्दी सिर्जना र पदपूर्ति गरी आगामी सत्रबाटै स्नातक तहको चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गराउन माग गर्दछौं।’
ज्ञापनपत्रमा विश्वविद्यालय विधेयक छिटो पास गराउन पनि माग गरिएको छ। ‘राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विश्वविद्यालय विधेयकलाई प्राथमिकताका साथ यथाशीघ्र टुंग्याई संसद्बाट पारित गराउन पहल गरिदिन अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ।
एमालेले अविलम्ब तीन सय शैयाको अस्पताल स्तनोन्ती र उपकरणहरूको समेत माग गरेको छ। ‘विश्वविद्यालयको पूर्वाधारको रूपमा सञ्चालनमा रहेको गेटा अस्पताललाई तत्काल तीन सय शैयामा स्तरोन्नति गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गर्दछौँ’ ज्ञापनपत्रमा उल्लेख छ।
गेटा अस्पताल अहिले निर्देशक विहीन भएको छ। यसअघि सरकारले नियुक्त गरेका निर्देशक डा। अशोक श्रीपाईलीले राजीनामा दिएका छन भने सरकारले नयाँ निर्देशक पठाएको छैन। जस कारण अस्पतालको उपकरण खरिद, खरिद भएका उपकरणहरूको भुक्तानी जस्ता थुप्रै कामहरू अलपत्र परेका छन।
‘गेटा अस्पतालको नेतृत्व विहीनताको अवस्था अन्त्य गर्न तत्काल अस्पतालको निर्देशक सहितका पदाधिकारी नियुक्त गरी बजेट परिचालन, पारिश्रमिक भुक्तानी र सर्वसाधारणको सेवा सुविधा सहज रूपमा उपलब्ध गराउन सकिने वातावरण निर्माण गरिदिन अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ।
गेटामा ७ अर्बका संरचना बनिसकेका छन भने सरकारले घोषणा गरेको एक सय शैयाको अस्पताल पनि अहिले ५० शैयामा चिलरहेको छ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया