जानकी गाउँपालिकाको शैक्षिक प्रदर्शनीमा विद्यार्थीका कलाकृति

  मङ्गलबार ०६, फागुन २०८१ ०८:५४
कैलालीको जानकी गाउँपालिकामा भएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले बनाएका सामग्री ।

टीकापुर । कैलालीको जानकी गाउँपालिकाका ३४ वटा विद्यालयले विज्ञान, कला, शैक्षिक सामग्री तयार गरी प्रदर्शन गरेका छन् । विद्यार्थीलाई प्रयोगात्मक कार्यमा सक्रिय बनाउन शिक्षा शाखाले सबै विद्यालयलाई विज्ञान सामग्री, कलाका सामग्री, साहित्यलेखन र शैक्षिक सामग्री उत्पादन गर्न समय दिएको थियो । एक महिनाको अवधिमा विद्यार्थीले स्थानीय सामग्रीको प्रयोग गरी बनाएका कलाकृति जनकल्याण आधारभूत विद्यालय सुवर्णपुरमा प्रदर्शन गरिएका छन् । 

दुई दिनसम्म चलेको प्रदर्शनी हजारौँ शिक्षक तथा विद्यार्थीले अवलोकन गरेका छन् । शिक्षक दुर्गा रावलले पालिकाले शैक्षिक क्षेत्र सुधारका लागि नौला नौला कार्यक्रम गरिरहेकोमा शैक्षिक मेलाले विद्यार्थीका प्रतिभा प्रस्फुटन भएका, शिक्षकलाई उत्प्रेरणा मिलेको र शैक्षिक गुणस्तर बढाउन सहयोग पुग्ने बताउनुभयो  ।

अर्का शिक्षक टेकबहादुर धामीले विज्ञान तथा शैक्षिक सामग्री निर्माणमा विद्यार्थी स्वस्फूर्त सहभागी भएको र सूचना प्रविधिको ज्ञान शिक्षकलाई भन्दा विद्यार्थीलाई बढी भएकाले प्रदर्शनीबाट विज्ञानका शिक्षकले पनि ज्ञान प्राप्त गरेको बताए ।

प्रदर्शनीमा राखिएका सामग्रीको विज्ञबाट मूल्याङ्कन पनि गरिएको छ । विज्ञान तथा प्रविधि प्रदर्शनी र शैक्षिक सामग्री निर्माणतर्फ भृकुटी मावि पहिलो भएको छ । यस्तै भाषा साहित्यमा जनता मावि मुनुवा पहिलो भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रम विषयका सहप्राध्यापक नाथुराम चौधरीले सामग्री उत्कृष्ट बनेका र यिनलाई शिक्षकले कक्षाकोठामा पनि प्रयोग गर्न सुझाव दिए । 

हजारौँको सङ्ख्यामा शैक्षिक मेला अवलोकन गर्न आएका विद्यार्थी र अभिभावकले कलाकृति, विज्ञान सामग्री हेरेर ज्ञान र मनोरञ्जन लिएका छन् । गाउँपालिका अध्यक्ष गणेश चौधरीले पालिकाको शैक्षिक सुधारका लागि विद्यार्थीका प्रतिभा प्रस्फुटन गर्ने प्रयासस्वरूप प्रदर्शनी मेला राखिएको बताए ।    

clock मङ्गलबार ०६, फागुन २०८१ ०८:५४

प्रतिक्रिया