पीएम कप क्रिकेटः एपीएफ बन्यो च्याम्पियन

  शनिबार १२, माघ २०८१ १७:४९

धनगढी  । धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको जित निकाल्दै एपिएफले उपाधि हात पारेको हो ।

योसँगै एपिएफले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधिसँगै एपिएफले ५ लाख पुरस्कार पाएको छ भने सुदूरपश्चिम उपविजेता हुँदै ३ लाख हात पार्याे ।

जितका लागि पाएको ६८ रनको विजयी लक्ष्य एपिएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्याे । एपिएफका ममता चौधरीले अविजित ४३, कप्तान इन्दु बर्मा नटआउट १८ रन जोडिन् ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा समेटियो । जसमा ममता बोहराले १८ र कप्तान विन्दु रावलले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ एपिएफका कविता जोशीले तीन, कप्तान इन्दु बर्मा र सवनम राईले दुई÷दुई विकेट हात पारे । कविता ‘प्लेयर अफ द म्याच’ चुनिएका छिन् । यसैबीच प्रतियोगिताभर व्यक्तिगत १ सय ७२ रन र पाँच विकेट हात पारेकी एपिएफकी कप्तान बर्मा ‘प्लेयर अफ द सिरिज’ भएकी हुन् ।

एपिएफका लागि दुई सय नौ रन बनाएकी ममता चौधरी वेस्ट ब्याटर र बागमतीका लागि १० विकेट हात पारेकी मनीषा उपाध्याय वेस्ट बलर हुन सफल भइन् । प्लेयर अफ द सिरिजले ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५÷२५ हजार पुरस्कार पाएका छन् ।
 

clock शनिबार १२, माघ २०८१ १७:४९

प्रतिक्रिया