निर्माणको पर्खाइमा देशकै पहिलो फ्रेन्चाइज खेलाएको धनगढीको फाप्ला मैदान

  सोमबार २९, मङि्सर २०८२ १०:२५

धनगढी । दशकअघि देशकै पहिलो फ्रेन्चाइज धनगढी प्रिमियर लिग सञ्चालन भएको धनगढीस्थित फाप्ला मैदान रंगशाला निर्माणको पर्खाइमा छ । फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने माग उठेको दशकसम्म पूर्वाधार निर्माणको सुरुवातसम्म भएको छैन । नेपाल क्रिकेट संघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष हरि रेग्मीले सरकारको प्राथमिकतामा नपर्दा फाप्लामा रंगशाला निर्माण चर्चामै सीमित बनेको बताए ।

‘सरकारी उपेक्षाकै कारण रंगशाला निर्माणको आवाज उठेको १०–१२ वर्षसम्म पूर्वाधार निर्माणको सुरुवातै हुन सकेन,’ उनले भने, ‘रंगशाला बनेको भए एनपिएलजस्ता प्रतियोगिता यहाँ पनि सञ्चालन गर्न सकिने अवस्था हुन्थ्यो ।’ फाप्लावरिपरि तारबार लगाइएको छ । मैदान भने गौचरन बनेको छ ।

हरेक प्रतियोगिता गर्दा फाप्ला मैदानमा पिच बनाउन कम्तीमा ५–७ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको रेग्मीले बताए । फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित खेलग्राम निर्माणको डिपिआर गत वर्ष असोजमा मात्र पूर्वाधार निर्माण विकास समितिबाट स्वीकृत भएको छ । धनगढी उपमहानगरपालिका– ३ स्थित फाप्ला क्षेत्रको साढे ३८ बिघा सरकारी जमिन खेलग्रामको नाममा आइसकेको छ ।

फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही भने फाप्ला खेलग्रामको डिपिआर र इआइए स्वीकृत भइसकेकाले अब रंगशाला निर्माणको काम अघि बढ्नेमा आशा रहेको बताए । ‘जग्गा प्राप्ति, डिपिआर निर्माणलगायत सबै प्रक्रिया पूरा भएर पूर्वाधार निर्माण सुरु गर्न ‘बेस’ तयार भएको छ,’ शाहीले भने, ‘अब पूर्वाधार निर्माणको चरण सुरु हुन्छ ।’ फाप्लामा डिपिएल गर्नुका साथै त्यसवेला ‘ड्रिम’ फाप्ला अभियान सुरु गरेका शाहीको अध्यक्षतामा सरकारले जेठ ०७९ मा पूर्वाधार विकास समिति गठन गरेको थियो ।

समितिका अनुसार गठन भएको सुरुका दुई वर्ष सरकारले डिपिआर बनाउन बजेट दिएन । डिपिआर र इआइएमा ६० लाख रुपैयाँ खर्च भएको समितिले जनाएको छ । डिपिआरअनुसार ५० हजार दर्शक अट्ने क्षमताको क्रिकेट रंगशाला, फुटबल मैदान, म्युजियम, आवास, होटेल, अस्पताललगायत अन्य व्यावसायिक संरचना निर्माण हुनेछन् । 

निर्माणको लागत २६ अर्ब अनुमान गरिएको छ । ०६९ मा अन्तरकलेज एसपिए कप क्रिकेट फाप्ला मैदानमा भएपछि यसको चर्चा सुरु भएको थियो । नेपाल क्रिकेट संघ कैलाली जिल्ला अध्यक्ष विक्रम विष्टले डिपिआर बन्नु उपलब्धि भए पनि त्यसअनुसार पूर्वाधार निर्माण हुनेमा विश्वास नरहेको बताए । राज्यले २६ अर्ब खर्च गर्ने अवस्था नरहेकाले क्रिकेट रंगशाला निर्माण कार्य पनि ओझेलमा पर्छ भन्ने लागेको उनले बताए ।

clock सोमबार २९, मङि्सर २०८२ १०:२५

प्रतिक्रिया