कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दी अझै सम्पर्कविहीन

  सोमबार २९, मङि्सर २०८२ १०:१६

कञ्चनपुर । गत भदौ २४ गते साँझ जेनजी समूहको आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट निस्किएका ३५७ मध्ये अझै ९८ कैदी फरार रहेका छन् । जसमध्ये लागुऔषधसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दी अत्यधिक रहेका छन् । कञ्चनपुर कारागारका अनुसार फरार रहेका कैदीबन्दीमध्ये ३२ कैदीबन्दी लागुऔषधसम्बन्धी मुद्दाका रहेका छन् । 

सूचना अधिकारी जीवन पन्तका अनुसार लागुऔषध मुद्दामा २३ वर्ष कैद भुक्तान गर्न बाँकी भारत उत्तर प्रदेश तहसिल पलियाका ५० वर्षीय महङ्गा सिंह, नौ वर्ष कैद भुक्तान गर्न बाँकी उत्तरप्रदेश खिरीका ३३ वर्षीय सानु अन्सारी, सात वर्ष कैद भुक्तान गर्न बाँकी पिलिभितका ३५ वर्षीय सोना सिंह, सात वर्ष कैद भुक्तान गर्न बाँकी टिल्ला, पिलिभितका २७ वर्षीय अजविन्र सिंह, पाँच वर्ष कैद भुक्तान बाँकी भारतको उत्तरप्रदेशका ४४ वर्षीय रइस अहमद, चार वर्ष कैद भुक्तान गर्न बाँकी पिलिभितका ३४ वर्षीय सुख देवसिंह फरार रहेका छन् । 

यसै गरी लागुऔषध मुद्दामा कारागारबाट फरार रहेका तीन वर्ष कैद भुक्तान गर्न बाँकी भारतको उत्तरप्रदेश सहजनपुरका ३९ वर्षीय अनिलकुमार सिंह, छ महिना कैद भुक्तान गर्न बाँकी लखिमपुरका ३१ वर्षीय धर्मेन्द्र दुवे पनि फरार छन् । यसै गरी सोही मुद्दामा थुनामा रहेका उत्तरप्रदेश पुरनपुरका ४० वर्षीय महेन्द्र सिंह, पिलिभितका ३९ वर्षीय कुलदीप सिंह र पिलिभितकै ५९ वर्षीय बेचेलाल पासवान फरार रहेको कञ्चनपुर कारागारले जनाएको हो । यसै गरी लागुऔषधसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका कञ्चनपुरसहित अन्य जिल्लाका २१ जना पनि फरार रहेको कारागारले जनाएको छ । 

सूचना अधिकारी पन्तका अनुसार तीन वर्ष कैद भुक्तान गर्न बाँकी वेदकोट नगरपालिका–१० का ३१ वर्षीय धनीराम कामी, चार वर्ष कैद भुक्तान गर्न बाँकी वेदकोट नगरपालिका–९ का ३० वर्षीय महेश विष्ट भन्ने भुवन कुँवर, सात वर्ष कैद भुक्तान गर्न बाँकी बेलौरी नगरपालिका–१० का ४० वर्षीय बलबहादुर चन्द, आठ वर्ष कैद भुक्तान गर्न बाँकी बेलौरी–८ का २२ वर्षीय विशाल चन्द, ११ वर्ष कैद भुक्तान गर्न बाँकी भीमदत्त नगरपालिका–१५ का ३१ वर्षीय भुवन साहु, पाँच वर्ष कैद भुक्तान गर्न बाँकी कैलालीको गौरीगङ्गा नगरपालिका–९ का ३१ वर्षीय जनक सापकोटा, दुई वर्ष कैद भुक्तान गर्न बाँकी कैलालीको धनगढी उपमहानगरपालिका–११ का ३३ वर्षीय राजु चौधरी, तीन वर्ष कैद भुक्तान गर्न बाँकी धनगढी ११ का २८ वर्षीय पदमबहादुर बोहोरासमेत फरार रहेका छन् । 

लागुऔषधसम्बन्धी मुद्दामा थुनामा राखिएका पुनर्वास नगरपालिका–९ का ४२ वर्षीय लक्ष्मी जैसी, वेदकोट नगरपालिका–९ का २६ वर्षीय शेरबहादुर विष्ट, बेलौरी नगरपालिका–२ का ४१ वर्षीय सीतादेवी चौधरी, वडा नम्बर ६ का २३ वर्षीय रोहित पन्त, भीमदत्त नगरपालिका–१५ का १९ वर्षीय राहुल साउँद, वडा नम्बर ३ का ४४ वर्षीय सरस्वतीकुमारी विष्ट, शुक्लाफाँटा नगरपालिका–८ का २४ वर्षीय प्रकाशसिंह धामी, कैलारी गाउँपालिका–९ का ४५ वर्षीय सुन्दरप्रसाद चौधरी, गोदावरी नगरपालिका–२ का २३ वर्षीय कमल खड्का, घोडाघोडी नगरपालिका–१० का २७ वर्षीय सुवर्णकुमार बोहोरा, धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय अर्जुन खड्का र दार्चुलाको महाकाली नगरपालिका–३ का ४१ वर्षीय नरसिंह भन्ने नारसिंह महर फरार रहेको सूचना अधिकारी पन्तले बताउनुभयो । 

फरार रहेकामध्ये लागुऔषधसम्बन्धी मुद्दामा जेनजी समूहका नौ कैदी फरार रहेको सूचना अधिकारी पन्तले बताउनुभयो । जसमध्ये २९४ कैदीबन्दी आफैँ कारागारमा उपस्थित भएका थिए भने ६३ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएर कारागार चलान गरेको थियो । 

यसै गरी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक भारतीयसहित २० जना कैदीबन्दी अझै फरार रहेको सूचना अधिकारी पन्तले बताउनुभयो ।  उहाँका अनुसार नौ जना कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी, आठ जना नकबजनी चोरीलगायत अन्य विभिन्न मुद्दाका २९ जना कैदी अझै फरार रहेका छन् । 

उनीहरूको खोजीका लागि प्रहरीलाई आग्रह गरिएको सूचना अधिकारी पन्तले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले फरार रहेका कैदीलाई विभिन्न माध्यमबाट खोजेर नियन्त्रणमा लिने कार्य भइरहेको बताउनुभयो । 

clock सोमबार २९, मङि्सर २०८२ १०:१६

प्रतिक्रिया