निर्वाचन रोक्न माग गर्दै एसपीए कलेजमा नेविसंघको अनिश्चितकालीन तालाबन्दी

  बिहिबार ०९, चैत २०७९ १८:५०

धनगढी । नेपाल विद्यार्थी संघ सुदूरपश्चिमाञ्चल क्याम्पस एकाई कमिटीले क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले नेविसंघको माग विपरीत मनोमानी दङ्गले परिषद्को निर्वाचन अघि बढाउने प्रक्रिया अघि बढाएपछि तालाबन्दी गरिएको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिइएको हो ।

एकाई कमिटी सभापति हितेष विक्रम चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘सबै विद्यार्थीहरूलाई सहभागी गरी निर्वाचन गराई दिने भन्ने माग थियो तर, आफ्नो मनोमानी ढङ्गले प्रक्रिया विपरीत रही चैत १० गतेका दिन विद्यार्थी परिषद्को निर्वाचन गर्ने निर्णय प्रति भर्त्सना गर्दै अनिश्चितकालको समयका लागि तालाबन्दी गरिएको छ ।’

उनीहरूले चैत ५ गतेका दिन क्याम्पस प्रशासनलाई चार बुँदे माग सहित स्ववियू निर्वाचन गराउनुपर्ने माग राखेका थिए । तर, क्याम्पस प्रशासनले सो ज्ञापन पत्र नबुझेको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

‘एसपीए विद्यार्थी परिषद्लाई पारदर्शी र सबै विद्यार्थीहरूलाई भाग लिन पाउने विधान संशोधन गरी सबै विद्यार्थीहरूलाई सहभागी गरी निर्वाचन गराइनुपर्ने छ’ उनीहरूको मागमा भनिएको छ ।

clock बिहिबार ०९, चैत २०७९ १८:५०

प्रतिक्रिया