सुदूरपश्चिम महोत्सव भोलिदेखि, उद्योग मन्त्री भण्डारीले उद्घाटन गर्ने

  शुक्रबार २१, मङि्सर २०८१ १७:०६

धनगढी । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शनिबारदेखि सञ्चालन हुने भएको छ ।

प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास एवंम् विस्तारसँगै कला, संस्कृतिको प्रवद्र्धनका लागि आयोजना भइरहेको महोत्सव शनिबारदेखि सञ्चालन हुने आयोजकले जनाएको छ ।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै वाणिज्य संघले महोत्सवको सबै तयारी पूरा भएको जनाएको छ । धनगढी उपमहानगरपालिका–१ को पशुपति टोलमा सञ्चालन हुने महोत्सवको औपचारिक समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने महासचिव ओमबहादुर विष्टले जानकारी दिए ।

तीन करोडको लगानीमा हुने महोत्सवमा उद्योगी व्यवसायीको १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए । उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ देखि पुष २ गतेसम्म सुदूरपश्चिम महोत्सवको आयोजना गर्दै आएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नाराका साथ आयोजना भइरहेको महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधी गरेर पाँच ३१ व्यवसायिक स्टल रहने बताए ।

महोत्सवमा सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराले निगरानी तथा निरीक्षण गरिनेछ । सर्वसाधारणलाई प्रती व्यक्ति एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
जेष्ठ नागरिक र फरक क्षमता भएकालाई भने निःशुल्क प्रवेश दिइनेछ ।

अध्यक्ष कुँवरले समृद्ध महिलाका लागि स् आर्थिक, सामाजिक सशक्तिकरणका लागि प्रती टिकट दुई रुपैयाँ र प्रती टिकट पाँच रुपैयाँ विपद् व्यवस्थापन कोषका लागि लागि छुट्याइने बताए । उद्योग वाणिज्य संघले हरेक वर्षको महोत्सवमा सामाजिक क्षेत्रका लागि टिकट बिक्रि वापत प्राप्त हुने बजेटको हिस्सा छुट्याउने गरेको छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।

clock शुक्रबार २१, मङि्सर २०८१ १७:०६

प्रतिक्रिया