राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्ने सहमति भएको छ : सभापति देउवा

  शनिबार ०१, मङि्सर २०८१ ०७:२६

डडेलधुरा । पूर्व प्रधमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संसोधन गर्ने सत्ता साझेदार एमालेसँग सहमती भएको बताउनु भएको छ ।

गृह जिल्ला डडेल्धुरामा रहनु भएकाले देउवासंग नेपाल प्रेस युनियन डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आवश्यक नभई नहुने कुराहरु गर्न संविधान संशोधन गर्ने सहमति भएको बताउनुभयो । राष्ट्रलाई फाइदा हुने काम गर्न संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरु दलहरुलाई समेटिने सभापति देउवाले बताउनुभयो । 

दुई तिहाई पुगाउन अरु दलहरुलाई पनि समेटर संविधान संशोधन गर्न सहमति भएकाले उहाँको भनाइ छ । देश भर पूर्वाधारहरु बनिसकेका छैनन् । उहाँले भन्नुभयो, ठाउँठाउँमा सडकहरु बनाउन अझै बाँकी छ । सिंचाईको व्यवस्था, बिजुली पुगेको छैन । आवश्यक भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्न दुई पार्टी बिच सहमती भएको उहाँले बताउनु भयो । सरकार यसमा लागिरहेको छ, धेरै कुराहरु अगाडि बढेको र धेरै कुराहरु अगाडि बढ्दै गएको उहाँले बताउनु भयो ।

समस्या सबैतिर भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीले राम्रोसँग सरकार संचालन गरिरहेको उहाँले बताउनुभयो । गठबन्धन भत्किने कुराहरु आमसंचारका माध्यमबाट सुन्ने गरेको भन्दै उहाँले त्यस्तो नहुने बताउनुभयो । मुस्कुराउँदै सभापति देउवाले भन्नुभयो, प्रेसबाट गठबन्धन फुट्ने कुराहरु मैले पनि सुन्छु । प्रेसमा मात्रै छ । अरु कही छैन ।   

यो गठबन्धन २०८४ सम्मै जान्छ रु भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो, दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो । त्यस पछि नेपाली काँग्रेस । मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमती भएको छ । १८ महिनाको सरकार कांग्रेसको नेतृत्वमा बन्ने उहाँले बताउनुभयो । 

वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रुपमा कसैलाई थुन्यो भन्नु गलत भएको उहाँले बताउनुभयो । हाम्रा साथीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । बयानहरु लिइरहेको छ । उहाँले भन्नुभयो, यसमा कुनै राजनीतिक प्रतिशोध छैन । प्रहरीले कानूनबमोजिम काम गरिरहेको छ । 

शिवशिखर सहकालीले डडेल्धुरामा ४२ करोड रकम हिनामिना गरेको सवालमा उहाँले हाम्रो जिल्लामा सहकारीले सबभन्दा बढी बदमासी गरेको उल्लेख गर्नुभयो । सहकारीको ठगी रकम बचतकर्ताले पाउने उहाँको भनाई छ । सहकारीका संचालक, ठगी गर्नेहरुलाई पक्राउ गरेर सम्पत्ति जफतगरी बचतकर्ताको रकम फिर्ता गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्माण व्यवसायीले रकम नपाएको सवालमा उहाँले गरेको कामको पैसा पाइने बताउनुभयो । गरेको कामको पैसा पाइन्छ । नगरेको कामको पैसा ल्याउ भने कहाँबाट पाइन्छ ।’’

चुनावका बेला मात्रै गृह जिल्लामा आउनु हुन्छ भन्ने गुनासो व्यापक हुने गरेको छ नि रु भन्ने प्रश्नमा सभापति देउवाले बेला बेला आउने गरेको र त्यो बेकारको हल्ला भएको बताउनुभयो । अहिले सातवटै पालिकाहरु पुगेको जानकारी गराउँदै उहाँले योजना बनाई दिनु परो भनी जनताले मागहरु ल्याउने गरेको बताउनुभयो । जनताका आकांक्षा धेरै छन, योजनाका मागहरु ल्याएर जनता भेट्न आउने उहाँले बताउनुभयो । जनताका माग अनुसार आफूले काम गरिरहेको र सबैले माया गर्ने उहाँले बताउनुभयो ।

clock शनिबार ०१, मङि्सर २०८१ ०७:२६

प्रतिक्रिया