दार्चुलाबाट एमालेका गणेश ठगुन्ना एकल सिफारिस
दार्चुला । नेकपा एमाले दार्चुला जिल्ला कमिटीको नवौं पूर्ण बैठकले आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट नेता गणेश सिंह ठगुन्नालाई सर्वसम्मत रूपमा एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
जिल्ला कमिटीको बैठकले ठगुन्नालाई पार्टीको आधिकारिक उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गर्दै उनको लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा, स्पष्ट विचारधारा र जनतासँगको बलियो सम्बन्धलाई आधार मानेको जनाएको छ।
पार्टीभित्र अनुशासित, कर्मठ र इमानदार नेताको छविका रूपमा परिचित ठगुन्ना दार्चुलाको राजनीतिक आन्दोलनमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। बैठकमा सहभागी नेताहरूले दार्चुला जिल्लाको समग्र विकास, जनताको समस्या समाधान र समावेशी विकासका लागि ठगुन्नाको नेतृत्व अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
एमाले दार्चुला जिल्ला कमिटीले आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउँदै जित सुनिश्चित गर्न सबै तहका नेता–कार्यकर्ता परिचालित हुने निर्णयसमेत गरेको छ। सर्वसम्मत सिफारिसपछि पार्टी कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपिएको छ।
उनीहरूले गणेश सिंह ठगुन्नालाई प्रतिनिधिसभामा पुर्याउन संगठन सुदृढ गर्दै घरदैलो अभियानलाई तीव्र बनाउने तयारी थालेका छन्। नेकपा एमालेले दार्चुलामा बलियो जनाधार रहेको दाबी गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा ठगुन्नाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया