नेपाली कांग्रेस बैतडीका नेता हरिमोहन भण्डारी रास्वपामा प्रवेश
बैतडी। बैतडीका राजनीतिक व्यक्तित्व हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। २०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीले नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गर्दै रास्वपामा आबद्ध भएका हुन्।
भण्डारीले गएको मंसिर २३ गते नै रास्वपाको सदस्यता लिएको भए पनि पौष १८ गते बैतडीको पाटनमा आयोजित जिल्ला सम्मेलनमार्फत औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। जिल्ला सम्मेलनमा उनले रास्वपाबाट वैकल्पिक र नयाँ राजनीतिक धारको प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका भण्डारीलाई पार्टीले कारबाही गरेको थियो। यद्यपि कांग्रेसले कारबाही फुकुवा गरेकै दिन भण्डारी रास्वपामा आबद्ध भएको खबर सार्वजनिक भएको हो। यस घटनाले बैतडीको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा भण्डारीले प्रदेशसभा क्षेत्र नम्बर (क) बाट स्वतन्त्र उम्मेदवारी दिँदै ११ हजार १८ मत प्राप्त गरेका थिए। उनी नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए। यद्यपि स्वतन्त्र उम्मेदवार भएर पनि उल्लेख्य मत प्राप्त गर्न सफल भण्डारीको राजनीतिक प्रभाव भने कमजोर नरहेको विश्लेषण गरिएको छ।
यसअघि २०७४ सालको निर्वाचनमा भण्डारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १५ हजार १२६ मत प्राप्त गरे पनि नेकपा माओवादी केन्द्रका प्रेम प्रकाश भट्टसँग पराजित भएका थिए। लगातार दुई निर्वाचनमा पराजय भोगे पनि भण्डारी बैतडीको राजनीतिमा परिचित र प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन्।
रास्वपाको सदस्यता लिइसकेकाले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भण्डारी नै उम्मेदवार बन्ने आँकलन सुरु भएको छ। रास्वपाले बैतडीमा बलियो उम्मेदवारको खोजी गरिरहेका बेला भण्डारीको प्रवेशलाई महत्वपूर्ण रूपमा हेरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बैतडीमा विभिन्न दलबाट सम्भावित उम्मेदवारको चर्चा पनि सुरु भएको छ।
नेकपा एमालेबाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, नेपाली कम्युनिस्ट पार्टीबाट नरेन्द्र कुँवर (विजय सुन्दर) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट भूपेन चन्द उम्मेदवार बन्ने चर्चा चलिरहेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार हरिमोहन भण्डारीको रास्वपामा प्रवेशले बैतडीको आगामी चुनावी समीकरणलाई थप रोचक बनाउनेछ।
प्रतिक्रिया