सुदूरपश्चिम सरकारका सय दिनः बिग्रेका वेबसाइट पनि बनाउन सकेन

  मङ्गलबार २७, कार्तिक २०८१ १५:००

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार सम्मेलन गरी सरकारका सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकारले सय दिनका उपलब्धि सार्वजनिक गर्दैगर्दा सुदूरपश्चिमका अधिकांश मन्त्रालय र मातहतका कार्यालय भने वेबसाइटविहीन छन् । प्रदेशका पाँच मन्त्रालयसहित मातहतका कार्यालयको वेबसाइट डाउन भएको चार महिना पुगेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वेबसाइट साउनदेखि डाउन छन् ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट पनि सँगै डाउन भएको थियो । तर, अहिले उक्त वेबसाइट चलिरहेको छ । यस्तै, प्रदेश प्रमुखको कार्यालय, प्रदेश लेखा नियन्त्रण कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय र प्रदेश नीति तथा योजना आयोगको कार्यालयको वेबसाइट पनि चलिरहेको छैन ।

यता, मुख्यमन्त्री शाहले भने प्रदेश सरकारका मन्त्रालय वेबसाइटविहीन हुनु दुस्खद भएको बताए । ‘मैले तत्काल वेबसाइट सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छु,’ उनले भने, ‘वेबसाइटको समस्या एक(दुई दिनमै समाधान हुन्छ ।’

clock मङ्गलबार २७, कार्तिक २०८१ १५:००

प्रतिक्रिया