सुदूरपश्चिमका  पाँच डीडिएफओको सरुवा

  सोमबार १४, पुष २०८२ ०७:२२

धनगढी । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँचजना डिभिजनल वन अधिकृत (डीडिएफओ) हरूको सरुवा गरेको छ। प्रमुख सचिव स्तरीय निर्णयमार्फत उक्त सरुवा गरिएको हो।

निर्णयअनुसार कैलालीको पहलमानपुरमा वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्यालाई खटाइएको छ। पाध्या यसअघि प्रदेश वन निर्देशनालय तथा वन अनुसन्धान तथा तालिम केन्द्र, गेटाको जिम्मेवारी सम्हाल्दै आएका थिए।

त्यस्तै, डिभिजन वन कार्यालय बाजुरामा कार्यरत लक्ष्मीराज जोशीलाई डिभिजन वन कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ भने कञ्चनपुरमा कार्यरत सुरेशचन्द्र डिसीलाई बाजुरा डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट र रामचन्द्र कँडेललाई प्रदेश वन निर्देशनालय, धनगढीमा सरुवा गरिएको छ। यसअघि डिभिजन वन कार्यालय धनगढीमा कार्यरत भट्टलाई पहलमानपुर र डिभिजन वन कार्यालय पहलमानपुरमा कार्यरत कँडेललाई कञ्चनपुर डिभिजन वन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको थियो।

तर उनीहरूले सरुवाविरुद्ध उच्च अदालत दिपायलमा रिट निवेदन दायर गरेपछि केही समय खटाइएको स्थानमा हाजिर   भएनन । पछि अदालतले  सरुवा बिरुद्द दायर उक्त रिट खारेज गरेपछि दुवै जनालाई प्रदेश वन निर्देशनालयमा तानिएको हो।

यसैबीच, डिभिजन वन कार्यालय धनगढीमा यसअघि नै वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरलाई प्रमुखको जिम्मेवारी दिइसकिएको छ।
सरुवा गरिएका कर्मचारीहरूलाई खटाइएकै निकायबाट तलब तथा भत्ता भुक्तानी हुनेगरी कामकाज गर्न निर्देशन दिइएको छ।

clock सोमबार १४, पुष २०८२ ०७:२२

प्रतिक्रिया