धनगढीका किसानले उत्पादन गरेका फूल विमानमार्फत काठमाडौँ निर्यात हुँदै

  बिहिबार १५, कार्तिक २०८१ ०७:२१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले फूल निर्यात थालेको छ। धनगढी उपमहानगरपालिकाका किसानले उत्पादन गरेका सयपत्री लगायतको फूल विमानमार्फत काठमाडौँ निर्यात थालिएको हो। 

धनगढी उपमहानगरपालिकाका किसानले उत्पादन गरेको फूलको प्रति किलोग्रामको विमानले ९० रुपैयाँ ढुवानी भाडा लिने भएको छ। किसानलाई प्रति किलोग्राम फूलमा धनगढी उपमहानगरपालिकाले ५० रुपैयाँ ढुवानीमा अनुदान दिएको छ। 

धनगढी–काठमाण्डौँ २०० रुपैयाँ प्रतिकिलोग्राम विमानका कम्पनीहरूले भाडा लिने गरेको भएपनि धनगढी उपमहानगरपालिकाको आग्रहमा ९० रुपैयाँ मात्र भाडा लाग्ने भएको नगर प्रमुख गोपाल हमालले बताए। उनले भने, ‘धनगढी उपमहानगरपालिकाले फूलमा आत्म निर्भरको अभियान थालेका थियौ। गत वर्षबाट हामी आत्मनिर्भर हुँदै गएका छौ। धनगढीमा हामीले बिक्री केन्द्र र चिस्यान दिएका छौ। हामीले बिजुलीको रकम दिने गरेका छौ।’

धनगढी उपमहानगरपालिकामा आवश्यकता भन्दा बढी फूल उत्पादन भएको हो। धनगढीसहित सुदूरपश्चिमका नागरिकलाई बढी भएको फूल काठमाडौँ पठाउन थालिएको हो। फल्वरीकल्चर यशोसियसनको सहकार्यमा काठमाडौँ फूल पठाउन थालिएको हो। नगर प्रमुख हमालले भने, ‘हामीले विमान कम्पनीहरूसँग आग्रह गरेका छौ। २ सय रुपैयाँ प्रति किलोको भाडा रहेछ। हामीले आग्रह गरेपछि ९० रुपैयाँमा फूल काठमाडौँ लैजाने सहमति भएको छ। उहाँहरूले एक सय १० रुपैयाँ छुट दिनु भएको छ। विमानको भाडा ९० रुपैयाँ परेको छ। ९० रुपैयाँमा पनि ५० रुपैयाँ धनगढी उपमहानगरपालिकाले दिने छ। किसानको ४० रुपैयाँ मात्र भाडा पर्ने भएको छ।’

धनगढी उपमहानगरपालिकाले गत वर्ष किसानले उत्पादन गरेको फूल खरिद गरेको थियो। बिक्री नभएको किसानको फूल उपमहानगरपालिकाले खरिद गरेको हो। यो पटक भने विमानको ढुवानी भाडामा अनुदान दिएर धनगढीमा उत्पादन भएको फूल काठमाडौँ पठाउन थालिएको छ। धनगढीका व्यवसायीहरूलाई प्लास्टिकका फूल तथा मालाहरूको प्रयोग नगर्नसमेत नगर प्रमुख हमालले भनेका छन। धनगढीमा प्लास्टिक प्रतिबन्ध गरिएको हो।

clock बिहिबार १५, कार्तिक २०८१ ०७:२१

प्रतिक्रिया