दुई दिने छोरोसँगै बोहरा दम्पतीको सपना बिचबाटोमै चकनाचुर

  बिहिबार ०१, कार्तिक २०८१ ०६:३५

डडेल्धुरा । डडेल्धुरामा मंगलबार राती बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भयो। मृतकमध्ये चार थिए, बैतडीको पुर्चौंडी नगरपालिका–३ तोलीगाउँकी २० वर्षीया कमला बोहरा, २२ वर्षीय सहदेव बोहरा, ४५ वर्षीया जैमती बोहरा र एक नाबालक। नाबालक कमलाका छोरा हुन् भने सहदेव श्रीमान र जैमती आमा हुन्। कमलाले सोमबार मात्रै छोरालाई जन्म दिएकी थिइन्। धनगढीको सेती प्रादेशिक अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएपछि कमलासंगै उनका श्रीमान सहदेव र उनकी आमा जैमती दंग थिए। सहदेव र जैमती पनि २४ असोजमा कमलासंगै धनगढी पुगेका थिए।

आमा र छोराको स्वास्थ्यमा कुनै समस्या नभएपछि अस्पतालले मंगलबार नै बिदा दिएको थियो। उनीहरुले सोही दिन घर फर्किनेका लागि अत्तरियामा कञ्चनपुरबाट पुर्चौडीका लागि छुटेको रात्रिबसमा बसेका थिए। उनीहरू सवार पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटनामा प¥यो। दुर्घटनामा परी कमला, उनका नाबालक छोरा, श्रीमान सहदेव र आमा जैमतीको घटनास्थलमै मृत्यु भएको हो।

छोरा जन्मिएको खुसी उनीहरुले दुई दिनसम्म पनि बाड्न पाएनन् । डडेल्धुरा अस्पतालमा भेटिएका पुर्चौडी नगरपालिका ३ का वडा अध्यक्ष खगेन्द्र बोहराका अनुसार सहदेवका बुवा र आमाको यसअघि नै मृत्यु भइसकेको छ। ‘सहदेवका दुई दाई छन्, तर उनीहरु पनि भारतमा मजदुरीका लागि गएका छन्,’ तोलीगाउँ नै घर भएका वडा अध्यक्ष बोहराले भने, ‘एकजनालाई बोलाएका छौं। हामी पोष्टमार्टमपछि चारै जनाको शव लगेर पुर्चौडी लाग्छौं।’

वडा अध्यक्ष बोहराका अनुसार सहदेव पनि भारतमै रोजगारी गर्दै आएका थिए। गर्भवती श्रीमतीको स्याहार गर्न र दसैँ मनाउनका लागि मात्रै उनी केही समय अगाडि घर पुगेका थिए। कमला गर्भवती भएपछि नियमति रुपमा गर्भजाँच भने पुर्चौडी नगरपालिका–३ मा रहेको न्वादेउ स्वास्थ्य चौकीमा गर्दै आएकी थिइन्। उक्त स्वास्थ्य चौकीमा बर्थीङ सेन्टर पनि थियो। तर सुरक्षित प्रसुती सेवाका लागि उनी २२ वर्षीया श्रीमान सहदेव र ४५ वर्षीया आमा जैमतीसंगै २४ गते धनगढी पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार मंगलबार राति भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। बोहरा परिवारका चारसंगै पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका १२ जनालाई भने डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रेफर गरिसकेको छ।

clock बिहिबार ०१, कार्तिक २०८१ ०६:३५

प्रतिक्रिया