धनगढीमा राष्ट्रियसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  बुधबार १६, पुष २०८२ १४:४५

धनगढी । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी स्वरूप धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका दुई सिटका लागि हुने निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृतको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गरिएको हो।

कार्यालयको संयुक्त रूपमा उद्घाटन कैलाली जिल्ला अदालतका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत भुवन सिंह थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गर्नुभयो। कार्यालय उद्घाटनसँगै अब राष्ट्रियसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू औपचारिक रूपमा अघि बढ्ने जनाइएको छ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनको कार्यतालिका कार्यान्वयन, दलहरूबीचको समन्वय, उम्मेदवार मनोनयन, मतदाता नामावली व्यवस्थापन लगायतका प्रक्रिया तीव्र बनाइनेछ। उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सबै आवश्यक तयारी भइरहेको बताउनुभयो।

निर्वाचन कार्यतालिकाअनुसार पुस १९ गते राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिने छ भने पुस २३ गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गरिने छ। त्यसपछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनलगायतका प्रक्रिया अघि बढ्नेछन्।

सुदूरपश्चिम प्रदेशमा हुने यस निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी , नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा स्वतन्त्र उम्मेदवारहरूका मतदाता रहनेछन्।

प्रदेशसभाका सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू निर्वाचनमा सहभागी हुनेछन्। निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार सबै तयारी पूरा गरी समयमै निर्वाचन सम्पन्न गर्ने लक्ष्य रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

clock बुधबार १६, पुष २०८२ १४:४५

प्रतिक्रिया