कैलाली बहुमुखी क्याम्पसको मतगणना अनिश्चित

  बिहिबार ०९, चैत २०७९ १२:४४

धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसको स्ववियु नेतृत्व चयनका लागि बुधबार निर्वाचन भएपनि मतगणना भने अनिश्चित बनेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक समेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान भएको थियो ।

तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमती हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो । एमाले सम्बद्ध अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूह लगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका थिए।

कांग्रेस सम्बद्ध नेविसंघले क्याम्पसमै गणना हुनुपर्ने माग गरेपछि सहमती हुन नसकेको हो । स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वरप्रसाद जोशीले मतगाणनाका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनसहितको बैठक बोलाइएको जानकारी दिए । बैठक बसेपछि मतगणना स्थल र समय निर्धारण गरिने उनको भनाई छ ।

चार हजार तीन सय ३३ जना मतदाता रहेको कैलाली बहुमुखी क्याम्पसमा दुई हजार तीन सय ६८ मत खसेको थियो । यहाँ एमाले सम्बद्ध अनेरास्ववियु र नेकपा ९एकीकृत समाजवादी० पार्टी सम्बद्ध अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ भने नेविसंघ, अखिल (क्रान्तिकारी) लगायतका संगठनले एकल रुपमा उम्मेदवारी दिएका छन् ।

clock बिहिबार ०९, चैत २०७९ १२:४४

प्रतिक्रिया