डडेल्धुरामा सडक खुलाउन श्रमदान गर्दै स्थानीय

  सोमबार ०७, असोज २०८१ १०:१४

डडेल्धुरा । डडेल्धुरामा चाडबाडका बेला सडक मर्मत गर्न स्थानीय आफैँ जुटेका छन् । वर्षाले क्षति भएको चुरेको सडक मर्मत गर्न स्थानीय दैनिक रूपमा काम गर्दै आइरहेका छन् । डडेल्धुरा–कञ्चनपुर जिल्लाको सिमाना चुरे पर्वतको दुर्गम बस्ती मलासका स्थानीय सडक मर्मतको काम गर्दै आइरहेका हुन् ।

दसैँतिहार नजिकिँदै गर्दा सडक मर्मत गर्न स्थानीय सरकारले कुनै चासो नदेखाएपछि मलासवासी सडक मर्मत गर्न जुटेका हुन् । तत्कालीन जिल्ला विकास समिति डडेल्धुराले डडेलधुरा–कञ्चनपुर जोड्ने महत्वपूर्ण सडकका रूपमा प्राथमिकतामा राखी साँदनी–गैरीखान–चुनापानी सडक खनेको थियो । यस सडकको गैरीखान–चुनापानी खण्ड वर्षाका कारण असार पहिलो सातादेखि अवरुद्ध भएको छ ।

साढे सात किलोमिटर लामो यस सडकखण्डमा यातायात सेवा सञ्चालन गर्न स्थानीय सरकारका जनप्रतिनिधिसँग पटक पटक माग गर्दा हालसम्म पनि कुनै सुनवाइ नभएको स्थानीयको गुनासो छ । चाडबाड नजिकिँदै गर्दा समेत स्थानीय सरकारले सडक सञ्चालन गर्न कुनै तदारुकता नदेखाएपछि मलासवासी स्थानीय आफैँ सडक मर्मतमा जुटेको स्थानीय जनक बमले बताए । 

कञ्चनपुरको महेन्द्रनगर बजारबाट सबैभन्दा छोटो दुरीमा चुरे पर्वत शृङ्खलाको मलास क्षेत्रका बस्तीमा पुगिन्छ । परशुराम नगरपालिका–७ अन्तर्गत मलास क्षेत्रमा रहेका बसेनी, गैरीखान, काजीगडा, आइडुङ्गा, पुरानपानी, साइसौनलगायतका विकट बस्तीका स्थानीय सडक मर्मतमा जुटेका हुन् ।

clock सोमबार ०७, असोज २०८१ १०:१४

प्रतिक्रिया