नरेशले ममताको हत्या गरी शरीर टुक्रा/टुक्रा पारी डिस्पोज गरेको प्रमाण अदालतमा पेश

  आइतबार ०६, असोज २०८१ १४:५०

काडमाडौं। अमेरिकाको भर्जिनियाबाट बेपत्ता भएकी नेपाली मूलकी महिला ममता काफ्ले भट्टको हत्या गरेर उनको शवलाई फरक फरक ठाउँमा फोहरमा फ्याँकिएको प्रमाण अदालतमा पेश गरिएको छ।

सरकारी वकिलहरुले ममताका श्रीमान नरेश भट्टले शवका टुक्राहरु डिस्पोज गरेको प्रमाण पेश गरेपछि अदालतले नरेशलाई धरौटीमा छाड्नुपर्ने मागलाई अस्वीकार गरेको छ।

हिरासतमा रहेका ममताका श्रीमान नरेशले ममताको शव नभेटिएकोले आफूलाई हिरासतमा राखिराख्न नहुने दावी गर्दै धरौटीमा रिहा गर्न माग गरेपछि शुक्रबार प्रिन्स विलियम काउन्टी कोर्टमा यो मुद्दामा सुनुवाइ भएको थियो।

 सोही सुनुवाइमा अभियोजकहरुले नरेशले ममताको हत्या गरेर शवलाई टुक्रा टुक्रा पारी फरक फरक ठाउँमा विसर्जन गरेको प्रमाण पेश गरेका हुन्।  सीएनएनकाअनुसार नरेशले ममताको हत्या गरी शरीर टुक्रा/टुक्रा पारी फरक-फरक ठाउँमा फालेको प्रमाण प्रहरीले अदालतमा बुझाएको छ ।

नरेशविरुद्ध शव विसर्जनको प्रमाण अदालतमा पेश गरिएको यो पहिलो पटक हो। ममता बेपत्ता भएपश्चात् र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले थुप्रैपटक आफ्नो टेस्ला कारमा ठूला/ठूला झोलाहरू बोकेर फरक/फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ ।

उनले कारबाट थैलोहरू झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेज नै इजलासमा देखाइएको थियो । नरेशले घरबाट १२ पटकसम्म यसरी थैलोहरू कारमा हालेर टाढा/टाढा लगि व्यवस्थापन गरेको प्रमाण अदालतमा पेस गरिएको छ ।

एकपटक उनले पुराना लुगा राखिने डोनेसन बक्समा समेत एउटा थैलो फ्याँकेका थिए । त्यो थैलोमा बाथरुमबाहिर प्रयोग गरिने म्याट रहेको पाइएको छ, जसमा रगत लत्पतिएको थियो ।

नरेशले ममताको हत्यामा सबै होसियारी अपनाएका थिए, ताकि उनीविरुद्ध कुनै पनि प्रमाणहरू नभेटिऊन् । सीएनएनका अनुसार प्रहरीले घरमा खानतलासी गर्न आउनुअघि नै लासको व्यवस्थापन गरिवरी घरभित्र पनि सबै सरसफाइ सिध्याएर बसेका थिए ।

फौजदारी उजुरीअनुसार नरेशले घरमा हत्या गरेको र त्यसपछि ममताको शव बेपत्ता पारेको अभियोग छ । प्रहरी अधिकारीले घरमा खोजी गरेपछि उनलाई अगस्ट २२ मा हत्कडी लगाएर पक्राउ गरेका थिए ।

भट्टलाई हत्याको औपचारिक अभियोग भने लगाइएको छैन तर, प्रारम्भिक आपराधिक उजुरीमा भनिएको छ, “जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए ।”

clock आइतबार ०६, असोज २०८१ १४:५०

प्रतिक्रिया