रहेनन् बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र देओल
काठमाडौं । बलिउडका ‘ही–म्यान’का रूपमा परिचित अभिनेता धर्मेन्द्र देओलको ८९ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धर्मेन्द्रको गम्भीर स्वास्थ्य अवस्थाको खबर सार्वजनिक भएपछि बलिउडमा स्तब्धता छाएको थियो । शाहरुख खान, सलमान खान, अभिनेता गोविन्दलगायत कलाकार अस्पताल पुगेर अवस्थाबारे जानकारी लिएका थिए । उपचारका क्रममा देओल परिवारका सदस्यहरू निरन्तर अस्पतालमै बसेका थिए ।
धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री हेमा मालिनीले आइतबार सामाजिक सञ्जालमार्फत एक तस्वीर सार्वजनिक गर्दै धर्मेन्द्र लगातार चिकित्सकको निगरानीमा रहेको बताएकी थिइन् । उनले लेखेकी थिइन्, ‘धरमजीको स्वास्थ्यप्रति चिन्ता प्रकट गर्ने सबैलाई धन्यवाद । कृपया उहाँको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिनुहोस् ।’
करिब ७ दशक लामो अभिनय यात्रामा धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’ जस्ता सुपरहिट फिल्ममा उनी अत्यन्त लोकप्रिय बने । उनका संवादहरू आज पनि चर्चित छन् ।
अन्तिम फिल्म डिसेम्बरमा प्रदर्शन हुँदै
उमेर ८९ वर्ष नाघिसके पनि धर्मेन्द्र फिल्म उद्योगमा सक्रिय थिए । ‘रकी एन्ड रानीकी प्रेम कहानी’ र ‘तेरी बातों में ऐसा उलझा जिया’मा अभिनय गरेर उनले फेरि दर्शकको मन जितेका थिए ।
आगामी फिल्म ‘इक्कीस’ डिसेम्बर २५ मा रिलिज हुने तय भएको छ, जसमा पनि धर्मेन्द्रको भूमिका रहेको छ ।
प्रतिक्रिया