फरेन्सिक परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव

  मङ्गलबार २८, असोज २०८२ १५:४४

काठमाडौँ । फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो ।

 

इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो । यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।

 

‘विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ दाजु किशोर जोशीले भने, ‘नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’

 

इजरायली सेनाले 'हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको' दाबी गरेको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो ।

clock मङ्गलबार २८, असोज २०८२ १५:४४

प्रतिक्रिया