कैलालीमा थारू समुदायको परम्परागत घोँगीको व्यापार बढ्दो

  शुक्रबार ०४, असोज २०८१ ०९:५४

धनगढी । थारू समुदायको परम्परागत खान्की घोँगीको व्यापार बढेको छ । पछिल्लो समय गैरथारूसमेतले घोँगीको परिकार मन पराउन थालेपछि यसको व्यापारले उचाइ लिएको हो । घरमा खानदेखि लिएर होटेलमा तरकारी बनाएर आगन्तुकलाई खुवाउनका लागि घोँगीको किनबेच भइरहेको छ । 

घोँगी धान खेतको दल दल, घोल, ताल, खोलानालामा प्राकृतिक रूपमा पाइने जलीय जीव हो तर यसको माग बढेसँगै पछिल्लो समय माछा पालन गरिएको पोखरीमा पनि व्यावसायिक रूपमा घोँगी पाल्न थालिएको छ । विभिन्न ठाउँमा पाइएका घोँगी सहर बजारमा ल्याएर बिक्री गर्न थालिएको छ । 

प्राकृतिक रूपमा पाइएका घोँगी बिक्री गरेर थारू समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । दैनिक ३०र३५ केजी घोँगी र घोङ्घाको व्यापार गरेर तीन हजारदेखि साढे तीन हजार रुपियाँसम्म आम्दानी गर्ने गरेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पौलाहाकी सुमन चौधरीले बताउनुभयो । उहाँले पौलाहाबाट ल्याएर धनगढीमा घोँगी र घोङ्घा प्रतिकेजी एक सय रुपियाँमा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । 

“घोँगी, घोङ्घा गरेर एक दिनमा ३०र३५ केजी बिक्री गर्दै आएका छौँ,” चौधरीले भन्नुभयो, “पहिले अलि बढी कमाइ हुन्थ्यो । अहिले भाउ बिग्रेर त्यति धेरै भएको छैन, तर एक जनाले दैनिक तीन हजारसम्म पैसा लैजाने गर्दछौँ ।” चौधरीका अनुसार पौलाहामा नदीले छोडेको घोलमा प्रशस्त मात्रामा घोँगी र घोङ्घा पाउने गरेको छ । त्यो सङ्कलन गरेर धेरै महिला बिक्रीका लागि धनगढी आउने गरेका छन् । “अहिले हामीहरू एक समूहमा सात जना घोँगी बेच्न आएका छौँ,” उहाँले भन्नुभयो । 

घोँगी र घोङ्घा दुवै उस्तै जलीय जीव हुन् । घोँगी केही हदसम्म सानो र घोङ्घा ठुलठुलो हुने गर्छ । थारू समुदायका मानिसले घोँगी र घोङ्घाको तरकारी सदियौँदेखि खाँदै आएका छन् । समुद्री खाना अन्तर्गत पर्ने घोँगी र घोङ्घाबाट प्रशस्त मात्रामा पौष्टिक तìव प्राप्त हुने गरेको बताइएको छ । ‘बलियो हुनु छ भने घोँगी खाउ’ भन्ने एउटा भनाइ पनि थारू समुदायमा प्रचलित रहेको छ ।

हिउँदमा तालतलैयामा मात्रै कम मात्रामा पाइने घोँगी वर्षायाममा भने यत्रतत्रको पानीमा बढी पाइने गर्छ । घोँगीको तरकारी अत्यधिक रुचाउने थारू समुदायका मानिसले खेतको दल दलदेखि तालमासमेत घोँगी खोज्ने गर्छन् । विशेष गरेर महिलाले दिनभरि घोँगी खोजेर त्यसको तरकारी परिवारलाई खुवाउने गर्दछन् ।

सहरका होटेलमा घोँगीको माग बढ्दै गएपछि पछिल्लो समय माछा पालक कृषकले माछा पोखरीमा घोँगीको व्यावसायिक पालन गर्न थालेका छन् । घोँगीले माछालाई कुनै असर नगर्ने गरेका कारण उनीहरूले माछासँगै घोँगीसमेत पाल्न थालेका हुन् । यस कार्यले दोहोरो फाइदा हुने गरेको माछा पोखरीमा घोँगी पाल्दै आउनुभएकी कैलारी गाउँपालिका–६, बेनौलीकी माछापालक कृषक प्रमिला चौधरीले बताउनुभयो । 

यस वर्ष पोखरीबाट प्रतिकेजी २८० का दरले हालसम्म ४०/५० केजी घोँगी बेचेको उहाँले जानकारी दिनुभयो । “अझै एक पोखरीको घोँगी बिक्री गर्न बाँकी छ,” उहाँले भन्नुभयो । घोँगी पोखरीमा राखेपछि हेरचाह वा स्याहारसुसारबिनै हुर्किने गरेको किसानको भनाइ छ । 

clock शुक्रबार ०४, असोज २०८१ ०९:५४

प्रतिक्रिया