बालापनमा पढाएका गुरुलाई भेट्न स्वस्तिक हस्पिटल पुगे गृह मन्त्री रमेश लेखक

  बिहिबार २०, भदौ २०८१ २१:०१

धनगढी । नेपाल सरकारका गृह मन्त्री रमेश लेखक स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल धनगढी पुगेका छन् । उनी आफूलाई माध्यमिक तह सम्म अध्यापन गराएका शिक्षकको स्वास्थ्य लाभको कामना सहित आफ्ना गुरु उपचाररत हस्पिटलमै पुगेर भेटेका हुन् । 

गृह मन्त्री लेखकलाई कक्षा १० सम्म बेदकोट नगरपालिकाको सुडामा अवस्थित श्री घटाल माध्यमिक विद्यालयमा अध्यापन गराएका नरेन्द्र सिंह भण्डारी अहिले पित्त थैलीमा देखिएको गडबडीका कारण स्वस्तिक हस्पिटल धनगढीमा उपचाररत छन् । 

गृह मन्त्री लेखकले अस्पतालमा कार्यरत डाक्टरहरू बाट शिक्षक भण्डारीको स्वास्थ्य अवस्था बारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् । ''उहाँ हाम्रो बेलाको हेड सर, बिरामी हुनुहुन्छ भन्ने थाहा पाए पछि भेट्न आए । डाक्टर साब राम्ररी हेरचाहरख्याल गरी दिनु होला । शीघ्र स्वास्थ्य लाभको कामना सर लाई ।'' उनले भने । 

गृह मन्त्री स्वयमले अस्पताल पुगेर भेटे पछि खुसी र ऊर्जावान् देखिएका शिक्षक भण्डारीले आफूहरू को कमाई नै यही भएको बताउँदै धन्यवाद ज्ञापन गरेका छन् । ''हामी शिक्षकहरूको कमाई नै यही हो । मैले पढाएको विद्यार्थी अब्बल बन्दै आज देशको गृह मन्त्री भएको छ । भेटेर स्वास्थ्य अवस्थाको बारेमा चासो राखेकोमा धन्य छु ।'' उनले भने । 

गृह मन्त्री लेखक धनगढी उप(महानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा निर्माण गरिएका नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस तथा क्वाटर गार्ड र २४ सै घण्टा सेवा दिने गरी प्रहरीले नै सञ्चालन गरेको आधुनिक पेट्रोल पम्पको उद्घाटनका लागि धनगढी आएका थिए । 

सो कार्य सकेर फर्किँदै गर्दा उनले आफ्ना गुरुलाई भेटेका हुन भने लेखक सँगै कञ्चनपुरको भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी तथा नेपाली काँग्रेस कैलाली र कञ्चनपुरका नेता कार्यकर्ताहरू शिक्षक भण्डारीलाई भेट्न स्वस्तिक हस्पिटल धनगढी पुगेका थिए ।

clock बिहिबार २०, भदौ २०८१ २१:०१

प्रतिक्रिया