निर्मला पन्त हत्याकाण्डबारे ती नेता लेखक र यी गृहमन्त्री लेखक, पक्राउ पर्लान त दोषी ?

  मङ्गलबार १८, भदौ २०८१ २१:०५

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा भएको थियो, निर्मला पन्तको बलात्कारपछि हत्याको घटना । उक्त ठाउँ अहिलेका गृहमन्त्री रमेश लेखकको गृहजिल्ला मात्रै नभएर गृह निर्वाचन क्षेत्रमै पर्छ । ६ वर्षअघि २०७५ साल साउनमा उक्त घटना हुँदा लेखकको पार्टी नेपाली कांग्रेस प्रतिपक्षमा थियो । लेखक भने २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भइसकेका थिए । २०७५ साउनमा निर्मलाको बलात्कारपछि हत्याको घटना सार्वजनिक भएपछि दोषीलाई कारबाहीका लागि सबैभन्दा कडा रूपमा प्रस्तुत भएका नेताहरूमा पर्छन् अहिलेका गृहमन्त्री लेखक ।

उनी आफैँ निर्मलाको न्यायका लागि भएको आन्दोलनमा सहभागी पनि भएका थिए । आन्दोलनमा घाइते भएकाहरूलाई भेट्न कञ्चनपुरमा अस्पतालमै पुगेका थिए । निर्मलाका परिवारलाई लगेर तत्कालीन प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटाएका थिए लेखकले ।

घटनाको तीन महिनापछि २०७५ कात्तिकमा रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा लेखकले भनेका थिए, ‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको यत्तिका दिन बित्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्दाको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ । प्रहरी अधिकृतहरूलाई बर्खास्त गरेर मूल विषयवस्तुबाट पन्छिने प्रयत्न गर्न मिल्दैन ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको र अपराधी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको आरोप पनि उनले लगाएका थिए । घटनाको ६ वर्षपछि गृहमन्त्री पदमा आसीन हुन पुगेका लेखकको बोली भने अहिले फेरिएको छ । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकलाई निर्मला पन्तकै घटनाबारे बोल्न सबैभन्दा समस्या पर्‍यो ।

निर्मलाको गृहजिल्लाले अहिले गृहमन्त्री पाएको छ, न्याय पाउने कुरा कहाँ पुग्यो भन्ने पत्रकारको प्रश्नमा मन्त्री लेखकले भने, ‘त्यो घटनाको पनि अनुसन्धान भइरहेको छ र त्यसले निरन्तरता पाउँछ । थप अनुसन्धान पनि हुन्छ ।’ यत्ति भनेर कुरा सकाएका गृहमन्त्री लेखकले अन्य प्रश्नमा भने खुलेरै जवाफ दिएका थिए । लेखक गृहमन्त्री भएपछि कञ्चनपुरका स्थानीयले निर्मला हत्याकाण्डको पर्दा उघ्रिएला भन्ने आस गरेका थिए ।

निर्मलाको न्यायिक आन्दोलनमा सहभागी कञ्चनपुरका पत्रकार खेम भण्डारी अहिले पनि निर्मलाले न्याय नपाए कहिल्यै नपाउने सम्भावना बढेको बताउँछन् । ‘गृहमन्त्री लेखकले निर्मला पन्त प्रकरणलाई टुंगोमा पुर्‍याउनेछन् भन्ने पूर्ण विश्वास छ,’ भण्डारीले भने, ‘यो प्रकरणलाई निष्कर्षमा पुर्‍याउन हाम्रो पूर्ण सहयोग रहनेछ । गृहजिल्ला र आफ्नै निर्वाचन क्षेत्रमा भएको घटना आफैँ गृहमन्त्री भएको बेला बिर्सनुभयो भने कञ्चनपुर–३ का जनताले उहाँलाई कहिल्यै बिर्सिने छैनन् । यो प्रकरण अब गृहमन्त्री लेखकको भविष्य निर्धारणमा कोसेढुंगा हुनेछ ।’

यता प्रहरीले भने निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार निर्मला हत्याकाण्डको अनुसन्धानमा अहिले पनि प्रहरी टोली सक्रिय छन् । ‘प्रदेश र जिल्लाका छुट्टाछुट्टै टोली खटाइएको छ भने सीआईबीको टोली पनि लागेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘अनुसन्धान भन्ने कुरा नतिजा आयो भने शतप्रतिशतमा पुग्छ, तर त्योभन्दा अगाडि शून्यमै छजस्तो लाग्छ । निर्मला हत्याकाण्डको रहस्य छिट्टै बाहिर आउँछ भन्ने हाम्रो विश्वास छ ।’ उक्त प्रकरणमा हालसम्म ६ सय ५६ जनामाथि अनुसन्धान भएको बताइएको छ । १ सय ६४ जनाको डीएनए परीक्षण गरेरै अनुसन्धान गरिएको छ ।

clock मङ्गलबार १८, भदौ २०८१ २१:०५

प्रतिक्रिया