गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : मन्त्री लेखक

  मङ्गलबार १८, भदौ २०८१ १२:३०

धनगढी । गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरुमा कुनै परिवर्तन नगर्ने गरी र गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताएका छन् । 

गृह जिल्ला कञ्चनपुर जाने क्रममा मङ्गलबार धनगढी विमानस्थलमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्ने तरिकाले संविधान संशोधन हुने उनले बताए । संविधान संशोधन विभिन्न चरण पार गर्दै गरिने चर्चा गर्दै  उनले भने, ‘‘पहिलो चरणमा संविधानको विषयमा व्यापक समीक्षा हुन्छ, समस्याको पहिचान हुन्छ र पहिचान भएको समस्याको सम्पूर्ण राजनीतिक दलहरुबिच सहमतिका आधारमा संविधान संशोधन हुन्छ ।’’ 

नेपालको संविधान २०७२ निर्माणका क्रममा जसरी नेपाली कांग्रेसले सबै राजनीतिक दलको सहमतिमा संविधान निर्माण गरेको थियो, त्यसरी नै संविधान संशोधनका क्रममा पनि सर्वदलीय सहमतिकै आधारमा संशोधन हुने मन्त्री लेखकको भनाइ छ ।  

यसगरी गृहमन्त्री लेखकले देशमा राजनीतिक अस्थिरता हटाउन एमाले र कांग्रेसको गठबन्धन भएको बताउदै भने, ‘‘यो गठबन्धन परिपक्व र २०८४ सम्म रहनेछ ।’’ दुई ठूला दल कांग्रेस र एमालेबिचको गठबन्धन सरकार बनेलगत्तै अर्थतन्त्रमा सुधार आएको बताए । 

मन्त्री लेखकले भने, ‘‘शिथिल भएको अर्थतन्त्र चलायमान भएको छ, सरकार बन्ने र भत्किनेक्रम अब बन्द भएको छ । जसले गर्दा देश आर्थिक समृद्धिको मार्गतर्फ उन्मुख भएको छ ।’’ 

परिपक्व दुई दलीय गठबन्धन सरकार बनेकै कारण सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्न सफल भएको उनले बताए । उनले भने, ‘‘तीन वर्षभित्र आयोग गठन गरी काम सम्पन्न गर्ने लक्ष्य सरकारको छ, जसको बिदेशी शक्तिले पनि स्वागत गरिसकेका छन् ।’’ 

पत्रकार सम्मेलनमा बोल्नुहुँदै गृहमन्त्री लेखकले सहकारीका विषयमा कानुन बमोजिम प्रक्रिया अघि बढेको बताउनुहुँदै दोषीले उन्मुक्ति नपाउने दाबी गरे । जिल्ला कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका गृहमन्त्री लेखकलाई धनगढीस्थित विमानस्थलमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

जिवी राई कहिले पक्राउ पर्छन ? भन्ने पत्रकारको जिज्ञासमा मन्त्री लेखकले सबै कुरा कानूनअनुसार अगाडि बढ्ने बताउनु भयो । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइजीपी बसन्त कुँवरका विषयमा दिएको अभिव्यक्तिबारे आफूले मन्त्री गुरुङसंग कुराकानी गरेको लेखकले बताउनु भयो । ‘उहाँले कुनै सन्दर्भमा भनेको हुँ र सामान्य विषयमै भनिएको र बाहिर आएजस्तो हाइन भन्नुभएको छ,’ मन्त्री लेखकले भन्नुभयो । गृहमन्त्री लेखक कैलाली र कञ्चनपुरको तिन दिने विभिन्न कार्यक्रमका लागि आएका हुन् ।

clock मङ्गलबार १८, भदौ २०८१ १२:३०

प्रतिक्रिया