प्रचण्डको निर्देशनपछि सुदूरपश्चिम संसदीय दलका नेताको जवाफ– केन्द्रको निर्देशन सिधै कार्यान्वयन हुँदैन, छलफल हुन्छ

  शनिबार १५, भदौ २०८१ ०७:३४

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ''प्रचण्ड''ले सुदूरपश्चिममा संसदीय दलको नेता परिवर्तन गर्न चौथोपटक दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने देखिएको छ ।

कैलालीको धनगढीमा भएको परामर्श बैठकपछि अध्यक्ष प्रचण्डले बिहीबार खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । तर, संसदीय दलका नेता मानबहादुर धामीले केन्द्रको निर्देशन सिधै कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

''डाइरेक्ट निर्देशन त कसरी कार्यान्वयन गर्न सकिन्छ ?'' नेता धामीले भने, ''दलको बैठक आह्वान भएपछि छलफल होला । तर, अहिले त बैठकसमेत आह्वान भएको छैन ।''

नेता धामीले दलको बैठक बोलाउनका लागि प्रदेशसभा सदस्यहरूले आग्रह नगरेको बताए । ''प्रदेशसभा सदस्यज्यूहरूले बैठक बोलाउन आग्रह नै गर्नुभएको छैन,'' उनले भने, ''बैठक भएपछि केन्द्रको निर्देशनबारे छलफल हुन्छ । दलको नेता परिवर्तन नै गर्नुपरे पनि प्रक्रियामा जान्छ । समय लाग्छ ।''

१२ माघ २०८० देखि माओवादी केन्द्र, सुदूरपश्चिम संसदीय दलमा विवाद छ । सो दिन ११ जना सदस्य रहेको माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गर्दै धामीलाई नेता चयन गरेको थियो ।

भट्टलाई संसदीय दल नेताबाट हटाउने निर्णयमा संसदीय दलका उपनेता अक्कलबहादुर रावल, मानबहादुर धामी, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक र गीतादेवी मालले हस्ताक्षर गरेका थिए ।

त्यसको ५ महिनापछि असार पहिलो साता प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका थिए । प्रचण्डले भट्टलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलका नेतामा पुनर्स्थापित गरेर प्रदेशमा पार्टीलाई एकताबद्द बनाउन निर्देशन दिए ।

त्यसपछि प्रचण्डले लिखित रूपमै खाराजलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । भदौ २ मा दलका नेता धामीलाई स्पष्टीकरण सोध्दै तत्काल दलको नेता खगराजलाई बनाउन निर्देशन दिएका थिए । तर, प्रचण्डको पटक(पटकको निर्देशन पनि कार्यान्वयन हुन सकेको छैन ।

clock शनिबार १५, भदौ २०८१ ०७:३४

प्रतिक्रिया