महिला प्रधानमन्त्रीको कुरा उठाइदिनु भएकोमा ओलीजीलाई धन्यवाद : परराष्ट्रमन्त्री राणा

  बिहिबार १३, भदौ २०८१ ११:४१

धनगढी । केही दिन पहिला देशले महिला प्रधानमन्त्री पाउने छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले धन्यवाद दिएकी छिन् । धनगढीमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् । 

पत्रकार सम्मेलनमा अबको प्रधानमन्त्रीमा तपाईंको चर्चा छ नि भन्ने जिज्ञासामा परराष्ट्रमन्त्री राणाले महिला प्रधानमन्त्रीको चर्चा चल्नु स्वभाविक भएको र सो आवाज प्रधानमन्त्री ओलीले उठाएकोमा धन्यवाद दिएकी हुन् । 

''नेपाली कांग्रेस अनुशासनमा बस्ने पाटी हो । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नु पर्छ,'' मन्त्री राणाले भनिन्, ''संसदीय दलको नेता सभापति शेरबहादुर देउवा हुनुहुन्छ, दुई दलीय सहमति अनुसार उहाँ नै भावी प्रधानमन्त्री बन्नुहुन्छ ।''

बाहिर चर्चा चलेजस्तो आफू अहिल्यै नै प्रधानमन्त्री बन्ने सम्भावना कम रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्, ''प्रधानमन्त्रीमा उहाँकै पाटीका महिला बन्नुहोला, महिला प्रधानमन्त्री बन्ने विषयमा भने म खुशी छु । प्रधानमन्त्री ओलीजीले आवाज उठाई दिनुभो फेरि पनि धन्यवाद छ ।''

देशमा झुटा राजनीतिक कुसंस्कार हावी हुँदै गएको, वेथिति बढेकोले उपलब्धिको रक्षा गर्न वर्तमान गठबन्धन ८४ सम्म निरन्तर रहने समेत उनले बताइन् । ''दुई ठूला दल मिल्दा जनताको हित अनुसार काम गर्न सरकार सक्रिय रहेको छ,'' उनले भनिन्,''वर्तमान गठबन्धन बनेकै कारण सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक संसदमा पास भएको छ ।''

मन्त्री राणाले कांग्रेस र एमाले देशमा संकट पर्दा पटक पटक मिलेर समाधान गरेको ईतिहास साक्षी रहेको उनले बताइन् । नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा राम्रो भएको बताउँदै उनले भनिन्, ''अन्तर्राष्ट्रिय शक्तिहरु नेपाललाई सहयोग गर्न चाहन्छन् । हामीले समन्वय गर्न सकेको खण्डमा विदेशी शक्तिहरुबाट देशले ठूलो लाभ लिन सक्ने छ ।''

आफू भारत भ्रमणका बेला देश विकासको लागि भारत सरकारसँग महत्त्वपूर्ण छलफल समेत भएको बताउँदै उनले भनिन्, ''गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउने र महाकाली नदीमा पुल तथा झोलुंगे पुल बनाउने कुरामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक हुनुहुन्छ ।''

clock बिहिबार १३, भदौ २०८१ ११:४१

प्रतिक्रिया