प्रचण्ड र आरजु आज धनगढी आउदै

  बुधबार १२, भदौ २०८१ ०८:३८

धनगढी । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउँदैछन । प्रचण्ड पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन र परराष्ट्रमन्त्री देउवा गौरा विसर्जन गर्न धनगढी आउन लागेकी हुन ।

प्रचण्ड पार्टीका अन्य नेताहरु सहित बुधबार बिहान नियमित उडानबाट धनगढी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ । माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक बुधबार बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ ।

दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिएका छन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

मन्त्री देउवा पनि गौरा पूजाका लागि बुधबार बिहान धनगढी पुग्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिमको मौलिक पर्व गौराको समापन कार्यक्रमका लागि मन्त्री राणा धनगढी आउन लागेकी हुन् । मन्त्री राणाको धनगढीस्थित निवासमा भित्र्याइएको गौरा विसर्जन गर्ने कार्यक्रम रहेको पडालले जानकारी दिए ।

clock बुधबार १२, भदौ २०८१ ०८:३८

प्रतिक्रिया