गौराले राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने छ : प्रदेश प्रमुख मियाँ

  आइतबार ०९, भदौ २०८१ १४:२३

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक वर्ष गौराको सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावना बढाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले गौरा पर्वले नयाँ उमङ्ग र हौसला बढाउने समेत बताएका छन् ।

‘यस वर्षले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावनासहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ परापूर्वका कालदेखि मनाउँदै आइरहेको सांस्कृतिक ,धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको गौरा पर्वको संरक्षण र संवर्द्धनमा लाग्नु पर्ने प्रदेश प्रमुख मियाँ बताएका छन् । उनले शुभकामना सन्देशमा गौरा पर्वले एक आपसमा प्रेम ,सद्भाव र आत्मीयता बढाउनेमा समेत विश्वास व्यक्त गरेका छन्। 

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा हिजो देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिलामा भव्य रुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुँडा भिजाइएको थियो । आइतबार बिरुँडा धुँदै नाउलामा गौराको विधिवत् रुपमा पूजा गरिएको छ । यसलाई नाउलाकी गौरा भन्ने प्रचलन रहेको छ ।

अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ । त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ । बिरुँडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरिन्छ ।

गाउँका पुरुष र महिलाहरूले पाँच दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन् । साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ ।

No description available.

clock आइतबार ०९, भदौ २०८१ १४:२३

प्रतिक्रिया