कृषिमन्त्री थापालाई भेट्ने समय बिहान र साँझ तोकियो, खादा–माला निषेध !

  बुधबार ३०, साउन २०८१ १३:१५

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा ‘पातल’लाई भेट्ने समय बिहान र साँझ तोकिएको छ ।

कार्यालय समयमा भेटघाट र बधाई आदानप्रदान गर्दा मन्त्रालयको अत्यावश्यक कामकारवाही प्रभावित भएपछि उनको स्वकीय सचिवालयले समय व्यवस्थापन गरेको हो ।

मन्त्री थापाका स्वकीय सचिव हिमेश थापाले बिहान ७–९ बजे र साँझ ५–७ बजेसम्म मन्त्री निवासमा भेट्न सकिने जानकारी दिए । उनका अनुसार मन्त्री थापालाई भेट्न आउँदा खादा–माला नल्याउन अनुरोध गरिएको छ । बिहान र साँझ मन्त्री थापालाई उनकै सरकारी निवास भौतिक पूर्वाधार मन्त्रालयको पछाडितिर भेट्न सकिनेछ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीज्यूलाई भोलिबाट भेट्न आउँदा खादा–माला लिएर नआइदिनुहुन अनुरोधका साथै मन्त्रालयमा कामकाज गर्नुपर्ने भएकाले काम विशेषबाहेक कार्यालय समयमा सामान्य भेटघाट तथा बधाई दिने कार्यक्रम बन्द गरिएको जानकारी गराउँछौं । कार्यालयमा भेट्न असमर्थ रहेका कारण क्षमाप्रार्थी छौं ।’

clock बुधबार ३०, साउन २०८१ १३:१५

प्रतिक्रिया