अध्यादेशबाट पेश्की बजेट ल्याउने मुख्यमन्त्री शाहको तयारी

  बुधबार २३, साउन २०८१ १२:१२

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल बहादुर शाहले जारी बजेट भ्याकुमको अन्त्य गर्न लागेका छन् । आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार सरकारलाई पूर्णता दिँदै बजेट भ्याकुमको अवस्था अन्त्य गर्नमा लागेका हुन् ।

नवनियुक्त आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले जारी बजेट शून्यताको अवस्थालाई अन्त्य गर्न अध्यादेशमार्फत बजेट ल्याउने तयारी थालेको जानकारी दिए । त्यसको लागि प्रदेश सरकारले प्रदेश सभाको विशेष अधिवेशन समेत अन्त्य गर्न लागिएको मन्त्री थापाले बताए ।

उनले भने, ‘२/३ दिनभित्रै प्रदेशको बजेट शून्यताको अवस्था अन्त्य हुन्छ । मैले हिजो पदभार ग्रहण गर्ने क्रममा पनि आफ्नो पहिलो निर्णय नै अहिले बजेट शून्यताको अवस्था अन्त्य गर्ने निर्णय गरेको छु । जसको लागि हामी लागेका छौँ । विशेष अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउँछौ ।’

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १ गते प्रस्तुत आव ०८१/०८२ को बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेका थिए । तर निवर्तमान मुख्यमन्त्री सोडारीको कदमलाई असफल पारेका हालका मुख्यमन्त्री शाहले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् । तर मुख्यमन्त्री शाहले संसदमा छलफल पूर्व नै बाहिरिएको बजेट नै जस्ताको त्यस्तै ल्याउन खोजेपछि आफूहरूले रोकेको बताउँछन् ।

मुख्यमन्त्री शाहले भने, ‘माननीय दीर्घ सोडारी नेतृत्वको सरकारले बाहिरिएको बजेट ल्याउन खोजेको थियो । अध्यादेशमा पनि तत्काल आवश्यक चाहिने कुरा के हो रु त्यो पो ल्याउने हो त ! नभए किन हाउस चाहियो ? हामीले पनि उहाँहरूलाई भनेका थियौँ, राजश्वसम्बन्धीका कुरा र साधारण खर्चका कुरा अध्यादेशमार्फत ल्याउँदा हामीलाई आपत्ति छैन । तर उहाँहरू मान्नुभएन । उहाँहरू त जो पीडीएफ फाइलमार्फत बाहिरिएको बजेट थियो, त्यही ल्याउन खोजेका थिए । त्यसमा हाम्रो विरोध थियो ।’

clock बुधबार २३, साउन २०८१ १२:१२

प्रतिक्रिया