सुदूरपश्चिममा टुंगियो मन्त्रालय भागबन्डा, मुख्यमन्त्रीसँगै आज शपथ लिने

  सोमबार २१, साउन २०८१ ०८:०२

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ लिँदैछन्।

आइतबार दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमबार अपराह्न ४ बजेपछि शपथ ग्रहण गर्ने तयारी रहेको उनको सचिवालयले जनाएको छ।

सुदूरपश्चिममा आजै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी छ। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ ग्रहण गराउने तयारी रहेकाले शपथ ग्रहण कार्यक्रम केही ढिला राखिएको एक सांसदले जानकारी दिए।

उनका अनुसार कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डा पनि टुंगो पनि लागिसकेको छ।

सात सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिनेगरी भागबन्डा टुंगिसकेको छ।

दलहरूले मन्त्रीको नाम टुंगो लगाएपछि आजै मुख्यमन्त्रीसँगै उनीहरूको पनि शपथ ग्रहण गराउने तयारी रहेको ती सांसदले जानकारी दिए।

clock सोमबार २१, साउन २०८१ ०८:०२

प्रतिक्रिया