कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण, सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख ८५ हजार ६३२ सहभागी मध्ये दुई लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै ग्रेडवृद्धितर्फ २०७८/२०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ ।
२०७६/२०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् ।
कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।
सबैभन्दा बढी अंग्रेजी विषयमा फेल
यसवर्ष कक्षा १२ का विद्यार्थीहरू सबैभन्दा बढी अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यसपटक सबैभन्दा बढी अंग्रेजी विषयमा एनजी आएको जनाएको छ । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ ।
यस्तै ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ९ हजार ५९१ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने ४६ हजार ८९३ जना, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या ७८ हजार ७५ जना रहेको छ ।
यस्तै २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ६१ हजार ३६ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ८ हजार २४० जना, १.६१ देखि २।० जीपीए ल्याउनेको संख्या १२ जना रहेको बोर्डले उल्लेख गरेको छ ।
यस्तै एनजी ल्याएर मौका परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ जना रहेको छ । मौका परीक्षा आउँदो भदौ २५ र २६ गते सञ्चालन गर्ने तयारी गरिरहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया