सुदूरपश्चिमको मुख्यमन्त्रीमा काँग्रेसका प्रकाश देउवा हुने

  बिहिबार १७, साउन २०८१ १३:४९

धनगढी । नेपाली काँग्रेसबाट प्रकाशबहादुर देउवा सुदूरपश्चिमको मुख्यमन्त्री हुने भएका छन्। काँग्रेसका केन्द्रीय नेताहरुले सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवालाई पठाउने निर्णय गर्न निर्देशन दिएका हुन्। नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय समितिको शुक्रवार बिहान बैठक बस्ने भएको छ। 

शुक्रवार बिहान ११ बजे दलको बैठक बोलाइएको काँग्रेसका एक प्रदेश सभा सदस्यले बताएका छन्। उनले भने, ‘केन्द्रमा एक प्रकारको सहमति भएको छ। प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने लगभग सहमति भएको हो। हामी सबै यतै छौँ। बिहान धनगढी आउछौँ। भोलि बिहान ११ बजे दलको बैठक छ। दलको बैठकले प्रकाश जीलाई मुख्यमन्त्रीमा पठाउने निर्णय गर्छ।’

नेपाली काँग्रेसले सुदूरपश्चिममा दलको नेतासमेत फेर्ने भएको हो। पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर प्रकाश देउवालाई पठाउने तयारी गरिएको छ।

दलको नेतासमेत रहेका पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले दलको नेता र मुख्यमन्त्री एकै व्यक्ति हुनुपर्ने अडान लिएपछि दलको नेतासमेत फेर्ने तयारी गरिएको हो। काँग्रेस दलको नेतामा प्रकाशबहादुर देउवाको पक्षमा बहुमत सदस्यहरू हुने दाबीसमेत गरिएको छ। 

केन्द्रको निर्देशन भएकाले शाहले दलको नेता छोड्ने एक प्रदेश सभा सदस्यले बताए। काँग्रेस संसदीय दलको नेता कमलबहादुर शाहा, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, बहादुर सिंह थापा र दिवान सिंह विष्ट मुख्यमन्त्रीको दौडमा छन्।

नेपाली काँग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद काँग्रेसको भागमा परेपछि नेताहरूको दौडधुप सुरु भएको थियो। सुदूरपश्चिममा नेपाली काँग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन्।सुदूरपश्चिममा एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन्। 

clock बिहिबार १७, साउन २०८१ १३:४९

प्रतिक्रिया