दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रका बासिन्दाको पीडा सुन्दै पूर्वमुख्यमन्त्री रावल

  शुक्रबार ११, साउन २०८१ ०७:२६

कञ्चनपुर। असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन्। बाढीले घर भताभुङ्ग बनायो। भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो।  त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ। बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन्। 

‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौँ। घर बस्नै नमिल्ने बनेको छ। होचो भूभाग हुँदा अझै पानी जमेकै छ । बल्ल बल्ल ज्यान जोगाएपनि घरभित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलसमक्ष गुनासो गर्दै भनिन्। नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृतवको टोलीले बाढीले क्षति पु¥याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाउँको स्थलगत निरीक्षण गरेको छ। 

सुदूरपश्चिमका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूसहित जनप्रतिनिधिको टोली बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडितको गुनासो सुनेका छन्। बाढी र डुबानले विस्थापित कतिपय नागरिक घर फिर्ती भइसकेपनि पटराखल्लाका २७ परिवारको बास विद्यालय बनेको छ। जमुना आधारभुत विद्यालयको कोठामा बाढी विस्थापितले रात बिताइरहेका छन्। 

जमुना आधारभुत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिकासहित एक सय ५ जना बाढी पीडितले आश्रय लिएर बसेको दोधारा चाँदनी–३ अध्यक्ष हरिसिंह धनाडीले बताए। विद्यालयमा पठनपाठन सुरु भइसकेकाले आश्रय लिएर बस्न समस्या भएको स्थानीय मंगल सुनारले बताए।

‘सुरक्षित आवासको व्यवस्था गरिदिनुप¥यो। अहिले विद्यालयमा बसिरहेका छौँ। हल्का वर्षा हुँदा पनि बस्ती डुबानमा पर्छ,’ उनले भने, ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ।’
दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटराखल्लाका बाढी विस्थापितको अस्थायी बसोबासको व्यवस्थापन गरिँदैछ। बर्षात् नसकिञ्जेलसम्म बस्ती नजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए।

पटराखल्ला बस्तीका स्थानीयले झेल्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध निर्माणको लागि पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए। बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीइओ अनिल पोखरेलसंग टेलिफोन सम्पर्क गरेर पक्की तटबन्ध निर्माणका लागि आग्रह गरेका छन्। 

‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकरात्मक हुनुहुन्छ। बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घचघचाउँछौँ,’ रावलले भने, ‘पीडामा तपाईहरुको साथमा छौँ। राहतको लागि पहल गर्छौ।’ दोधारा चाँदनी–१० को १८ पिल्लर बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ। तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार विस्थापितको जोखिममा छन्। 

बिना बर्दिका सैनिकझैँ सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो। जोगबूढा नदीको कटान रोक्न नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ। 

जोगबूढामा पक्की तटबन्ध निर्माण नहुँदा दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर बस्तीमा नदी पसेपछि स्थानीय प्रभावित बनेका थिए। खेतमा माटो भरिएर बगरमा परिणत भएको छ। बाढीले कतिपय घरमा क्षति पु¥याएर स्थानीय विस्थापित बनेको वडाध्यक्ष ओमप्रकाश रोकायाले जानकारी दिए।

clock शुक्रबार ११, साउन २०८१ ०७:२६

प्रतिक्रिया