बाजुरामा राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

  बुधबार ०९, साउन २०८१ ०६:४७     रासस

बाजुरा । अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक-पटक अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । 

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो । अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल बिच्छ्याइएको हो ।

लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिच्छ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

उनका अनुसार सडक डिभिजन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर सडक जोगाउने कार्य गरिएको हो । 

सदरमुकामकै सडक बन्द हुँदा समस्या हुने भएकाले त्रिपालको सहारा लिएको प्रजिअ पौडेलले बताए । सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माणाधीन उत्तरी चार पालिका जोड्ने मार्तडी(कोल्टी सडक पनि तीन सातादेखि अवरुद्ध छ । 

बाउली र अनाइ खोलामा पानीको प्रवाह बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो जाँदा अवरुद्ध भएको उक्त सडक  खुलाउन सम्बन्धित निकायले प्रयास नगरेको स्थानीयको गुनासो छ । रासस  

clock बुधबार ०९, साउन २०८१ ०६:४७     रासस

प्रतिक्रिया