मुख्यमन्त्री सोडारीले प्रदेश प्रमुख र सदनको अपमान गरेको कांग्रेसको आरोप

  मङ्गलबार ०८, साउन २०८१ २१:२६

धनगढी । नेपाली काँग्रेस संसदीय दलले, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले संसदको विषेश अधिवेशनमा अनुुपस्थित भएर सदन र प्रदेश प्रमुखको अपमान गरेको आरोप लगाएको छ।

काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मंगलबार विज्ञप्ती जारी गर्दै संसदको विषेश अधिवेशनमा सरकार प्रमुख भएर मुख्यमन्त्री सोडारीको अनुपस्थित हुनु गैरसवैधानिक, गैरजिम्वार, सत्तालिप्सा र प्रदेश प्रमुखको समेत अपमान भएको बताएको आरोप लगाएका हुन्। काग्रेसले प्रदेशमा परेको अबिरल बर्षाका कारण आएको बाढी, पहिरो, चट्याङ, डुवान र नदि कटानले गर्दा ठुलो जनधनको क्षति भएको प्रती गहिरो दुख ब्यक्त गरेको छ।

काँग्रेसले अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न माग पनि गरेको छ। सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री सोडारी अनुपस्थित भएका थिए। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टिका थापाबाहेक मुख्यमन्त्री र मन्त्रीहरु अनुपस्थित थिए।

काँग्रेस संसदीय दलले प्रेस विज्ञप्ति निकाल्दै प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेटमाथि वर्षे अधिवेशन चालु रहँदारहँदै छलफल नगराएको आरोप लगाएको छ। काँग्रेसले वैधानिक विकल्पहरुको खोजी समेत नगरी कामचलाउ सरकारले प्रदेशमा बजेट शून्यताको अवस्था निर्माण गरेको ठहर गरेको छ।

काँग्रेसले सरकारका कारण नै प्रदेशमा बजेट शून्यताका अवस्था आएको र सिंगो अर्थतन्त्रमाथि नै गम्भीर असर परिरहेको ठहर गरेको छ। काँग्रेसले प्रदेश सरकारका कारण मन्त्रालय र मातहतका निकायहरुले राजश्व संकलन गर्ने र खर्च गर्ने कार्यमा समेत अवरोध भई प्रदेशको समग्र आर्थिक प्रणाली नै तहसनहस हुने अवस्था वर्तमान सरकारले निर्माण गरेको आरोप लगाएको छ।

उसले भनेको छ, ‘यस्तो विपत्ति र प्रदेश बजेट शून्यताको अवस्थामा आइपुग्दा कुनै कोणबाट विश्वासको मत प्राप्त गर्न नसक्ने अल्पमतमा रहेको कामचलाउ प्रदेश सरकारका मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

No description available.

clock मङ्गलबार ०८, साउन २०८१ २१:२६

प्रतिक्रिया