धनगढीमा अस्पताल बनाउने भन्दै चर्च बनाइयो : सांसद शाही

  मङ्गलबार ०८, साउन २०८१ १४:४४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही कैलालीमा अस्पताल बनाउने भन्दै चर्च बनाइएको विषयमा आपत्ति जनाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले झुटो विवरण पेस गरेर भवन र गाडी खरिद समेत गरिए पनि पछि त्यहाँ चर्च बनाइएको र स्थानीयहरू विरोधमा उत्रिएको बताए । उनले वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाएको बताए । उनले स्थानीय तहमा गएर झुटो विवरण पेस गरी धार्मिक मन्दिर,चर्च र गुम्बाहरु बनाउन नपाइने बताए ।

उनले भने,‘कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को मनेरामा अस्पताल बनाउन स्थानीय तहबाट अनुमति लिइयो । भवन पनि बनाइयो र गाडी पनि खरिद गरियो । पछि वैदिक सनातन मान्ने मान्छेहरूलाई शैतान भन्दै चर्च बनाइयो । र अहिले त्यहाँ स्थानीयबासीहरू विरोधमा उत्रेका छन् । धर्म मान्न पाइन्छ सबैको अधिकार हो तर अर्काको धर्मलाई गाली गर्न पाइँदैन । झुटो विवरण पेस गरेर धर्म, मन्दिर र चर्च बनाउन र विदेशीले धर्म प्रचार गराउन पाइँदैन ।’

उनले धर्म प्रचार गर्ने दुई जना कोरियन नागरिक रहेको भन्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

clock मङ्गलबार ०८, साउन २०८१ १४:४४

प्रतिक्रिया