बाढी र डुबानले कैलाली कन्चनपुरमा आकासियो तरकारीको भाउ

  बुधबार ०२, साउन २०८१ १५:५६

कञ्चनपुर । गत साताको अविरल वर्षापछि तरकारीको मूल्य आकासिएको छ । लगातारको वर्षा र डुबानका कारण बोट नै कुहिएपछि तरकारीको भाउ आकासिएको हो । अहिले बजारमा तरकारीको मूल्य तीन गुणाले बढेको छ । टमाटर प्रतिकिलो दुई सय, लौका र फर्सी डेढ सय, करेला दुई सय, आलु एक सय, काक्रा दुई सय रुपैयाँमा बिक्री भइरहेको छ ।

एक साताअघिसम्म यीनै तरकारीको मूल्य प्रतिकिलो ५०/६० रुपैयाँ हाराहारी थियो । ‘अहिले त तरकारी छोइसक्नु छैन, मूल्य मात्रै बढेको छैन सहजै पाउन पनि गाह्रो छ,’ महेन्द्रनगर बजारका बासिन्दा वीरेन्द्र जोशी भने, ‘एकै पटक तीनरचार गुणाले मूल्य बढेको छ ।’

एकातिर बाढी र डुबानका कारण स्थानीय प्रभावित भएका छन् । त्यसैमा तरकारीको मूल्य आकाशिएपछि झनै गाह्रो परेको छ । महेन्द्रनगर तथा आसपासका बजारमा अहिले डडेलधुराबाट तरकारी आइरहेको छ । स्थानीय उत्पादन एकाएक घटेका कारण मूल्य बढेको व्यवसायीहरु बताउँछन् । टमाटर र आलु भारतीय बजारबाट पनि फाटफुट रुपमा आइरहेको छ ।

‘वर्षाले तरकारी सबै कुहेर सकियो, उत्पादन एकाएक घट्यो,’ महेन्द्रनगर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले भने, ‘लहरे तरकारी त पुरै सकिएको छ, कहिँकतै उचो ठाउँमा भएको मात्रै बाँकी छ ।’ लहरे तरकारी जाल बनाएर उत्पादन गरिन्छ । वर्षाले जाल सबै टुटेर भुईमा झरेपछि तरकारी पुरै कुहिएको छ ।

अध्यक्ष सोनारका अनुसार करिब ६० जना किसानले जनही डेढरदुई विघामा तरकारी खेती गरिरहेका छन् । तर अहिले अधिकांशको तरकारी सखाप भएको छ । अब नयाँ बिरुवा रोपेर दुईरतीन महिनामा नयाँ उत्पादन आएपछि मात्रै तरकारी सस्तो हुन सक्ने सोनार बताउँछन् ।

उनका अनुसार पहाडी जिल्लाहरुबाट आउने तरकारी पनि वर्षाकै कारण घटेको छ । उनका अनुसार महेन्द्रनगर र आसपासका बजारमा दैनिक १० टनसम्म तकारी खपत हुने गरेको छ । चैत, वैशाख र जेठमा बगर खेतीको उत्पादन पनि ठूलो मात्रामा हुन्छ । बढी मात्रामा उत्पादन भएपछि तरकारीको मुल्य निकै सस्तो हुन्छ । वर्षा सुरु भएसँगै बगरको उत्पादन घटछ ।

बगरको मात्रै होइन अन्यत्रको उत्पादन समेत घटेर मूल्य बृद्धि हुने गरेको छ । उपभोक्ताहरु भने वर्षाको कारण देखाएर व्यापारीहरुले एकाएक मूल्य बृद्धि गरेको बताउँछन् । विगतका वर्षमा पनि वर्षायाममा यसैगरी मूल्य बृद्धि हुने गरेको थियो । स्थानीय प्रशासन र नगरपालिकाले अनुगमन गर्नुपर्ने उपभोक्ताहरु बताउँछन् । गत साता भारी वर्षाका कारण कञ्चनपुरमा सयौं घर डुबानमा परेका थिए भने तीन दिनसम्म खेतबारी जलमग्न भएको थियो ।

clock बुधबार ०२, साउन २०८१ १५:५६

प्रतिक्रिया