धनगढीका सामुदायिक विद्यालयमा ४५ सय फलफूलका बिरुवा रोपिदै

  बुधबार २६, असार २०८१ १०:५३

धनगढी । धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा फलफूलका बिरुवा रोप्ने अभियान थालेको छ। उपमहानगरले ''विद्यालय फलफूल संरक्षण प्रवर्द्धन कार्यक्रम'' अन्तर्गत यो वर्ष  ५१ सामुदायिक विद्यालयमा बिरुवा रोप्न सुरू गरेको हो। मङ्गलवारबाट बिरुवा रोप्न थालिएको हो। मङ्गलवार १६ सामुदायिक विद्यालयमा एक हजार ५२५  बिरुवा रोपिएको नगर प्रमुख गोपाल हमालले बताएका छन्।

उपमहानगरले शिक्षा महाशाखाका प्राविधिक सहायक केशव खत्रीलाई सामुदायिक विद्यालयमा बिरुवा रोप्ने कार्यक्रमको जिम्मेवारी दिएको छ। जसअनुसार धनगढीका ६८ सामुदायिक विद्यालय मध्ये पर्खाल भएका ५१ विद्यालयमा कति बिरुवा रोप्न सकिन्छ भन्ने स्टिमेट निकालेर विद्यालयहरूलाई फलफूलको बिरुवा वितरण गरिन लागेको हो।

विद्यालयमा आँप र अम्बा  रोपिदै
धनगढी उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा आँप, अम्बा र लिचीका बिरुवा वितरण गरेको छ। विद्यालयमा बिरुवा रोपेर संरक्षण गर्न सजिलो हुने र फल्न थालेपछि बालबालिकाहरूलाई नै खान दिने उद्देश्यले फलफूलका बिरुवा रोप्ने योजना बानाइएको नगर प्रमुख गोपाल हमालले बताए। पर्यावरणको संरक्षण गर्न र बालबालिकाहरूलाई खान दिने हिसाबले फलफूल रोप्न लागेको नगर प्रमुख हमालले बताए।

'' पर्यावरणको संरक्षण र बालबालिकाले फल खान सकून्, रुखमा चढेर रमाउन सकून् भनेर फलफूलको बिरुवा रोप्न थालिएको हो,'' उनले भने, ''विद्यालयले फलफूल बिक्री गरेर आम्दानी गरोस् भनेर रोपिन लागेको होइन। विद्यार्थी र पर्यावरणका लागि फलफूलको बिरुवा रोप्न थालिएको हो।''

विद्यार्थीहरूले विद्यालयमा पढ्दै मौसमअनुसार पाक्ने फलफूल टिपेर खान पाउन भनेर हरेक विद्यालयमा जग्गाको क्षेत्रफलका आधारमा आँप र अम्बाको बिरुवा वितरण गरिने कार्यक्रम संयोजक केशव खत्रीले बताए।

बिरुवा हुर्काउन विद्यार्थीलाई जिम्मेवारी दिइने
विद्यालयमा रोपेका बिरुवा हुर्काउन विद्यालयहरूले विद्यार्थीहरूलाई जिम्मेवारी दिने बताएका छन्। रोपिएका बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र संरक्षण गर्ने दायित्व इको क्लबका विद्यार्थीको जिम्मा लगाएर हरेक बिरुवाको संरक्षण गरिने भएको छ।

बिरुवाको हेरचाह गर्न विद्यार्थीहरूलाई जिम्मा दिइने पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिशकुमार ओझाले बताए। उनले विद्यार्थीहरूलाई प्रत्येक बोटको जिम्मेवारी दिँदा बिरुवा संरक्षण हुने बताएका छन्।

बिरुवा फल्न थालेपछि बिद्यार्थीले नै खान पाउने
नगर प्रमुख हमालले विद्यालयको आम्दानी बढाउन बिरुवा फल्न थालेपछि ठेक्कामा लगाउने र बिक्री नगरिने बताए। उनले विद्यार्थीले फलफूल  टिपेर खान सकून् भनेर फलफूलका बिरुवा  रोप्ने अभियान चलाएको स्पष्ट पारेका छन्।

यस्तै, धनगढी-१६ बेहडाबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक भोजराज शर्माले विद्यालयमा ६५ बिरुवा आँप र १५ बिरुवा अम्बाको रोपिएको बताएका छन्। उनले बिरुवाले फल दिन थालेपछि बालबालिकाले नै दिवा खाजाको रुपमा फलफूल खान पाउने व्यवस्था मिलाइने बताएका छन्।

बिरुवा रोप्नु मात्रै ठुलो कुरा नभएर तिनको संरक्षण गर्नु महत्त्वपूर्ण कुरा भएको नगर प्रमुख हमालले बताएका छन्। विद्यालय  तथा अन्य सार्वजनिक ठाउँमा रोपिएका बिरुवाको संरक्षण गर्न सबैले लाग्नुपर्ने हमालले बताएका छन्। उनले उपमहानगरपालिकाले बिरुवा रोप्ने मात्रै होइन तिनको संरक्षणमा समेत ध्यान दिइरहेको बताएका छन्।

clock बुधबार २६, असार २०८१ १०:५३

प्रतिक्रिया