पहिरोको जोखिममा परेका अछामका १९ परिवारलाई सुरक्षित स्थानमा सारियो

  आइतबार २३, असार २०८१ १५:०७
मङ्गलसेन–रामारोशन सडक खण्डमा रूढ ढलेर अवरुद्ध भएको सडक । तस्बिर : शिवराज ढुङ्गाना

अछाम । लगातारको वर्षाका कारण जिल्लाका चौरपाटी गाउँपालिका र मङ्गलसेन नगरपालिकाका बस्ती जोखिममा परेपछि १९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

घर माथिबाट पहिरोको उच्च जोखिम भएपछि चौरपाटी गाउँपालिका–६ दुनीका नौ परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताइएको छ । दुनीको सेलपाखा भन्ने टोलको माथिबाट जमिन भासिएपछि जोखिममा रहेका नौ परिवारलाई स्थानीय स्वास्थ्य चौकीको भवन राखिएको वडा अध्यक्ष डबल खड्काले जानकारी दिए ।

यस्तै, सदरमुकाम मङ्गलसेन नगरपालिका–८ सुतुडाका ९ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । घर माथिबाट पहिरो आउने जोखिम भएपछि आफन्तको घरमा स्थानान्तरण गरिएको हो । सडक माथिबाट पहिरो आएर घर पुरिने अवस्था देखिएपछि नौ परिवारलाई वरपरको आफन्तका घरमा राखिएको वडा अध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराले जानकारी दिए।

यसैगरी, वर्षाका कारण कमलबजार नगरपालिका–६ विरपथमा एक घर भत्किएकाले परिवारलाई अन्यत्र सार्ने काम भइरहेको बताइएको छ ।

स्वास्थ्य चौकीको भवनमा बसिरहेका परिवारको थप अवस्था बुझ्नका लागि एक टोली पठाइएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिव प्रसाद लम्सालले जानकारी दिए । पानी रोकिएपछि सुतुडाको पहिरोको व्यवस्थापनमा लाग्ने प्रजिअ लम्सालको भनाइ छ ।

अछामका ग्रामीण सडक वर्षाका कारण बन्द भएका छन् । झरीका कारण पहिरो, हिलो र ढुङ्गामुढा खसेका कारण ग्रामीण सडक अवरुद्ध भएका हुन् । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले सबैलाई आग्रह समेत गरेको छ ।

clock आइतबार २३, असार २०८१ १५:०७

प्रतिक्रिया