ग्रेड वृद्धि परीक्षाको तयारी कक्षा चलाउन उपमहानगरले अनुदान दिने

  बुधबार १९, असार २०८१ १४:५२

धनगढी । धनगढी उपमहानगरपालिकाले एसइईको ग्रेड वृद्धि परीक्षाको तयारी गर्न अनुदान दिने भएको छ। उपमहानगरपालिकाले मङ्गलवार गणित र विज्ञान विषयको कक्षा चलाउन विद्यालयहरूलाई अनुदान दिने निर्णय गरेको हो। 

साउन २३ गतेदेखि ग्रेड वृद्धि परीक्षा हुने भएकाले साउन २२ गतेसम्म कक्षा चलाउन धनगढीका २६ सामुदायिक विद्यालयलाई अनुदान दिने निर्णय भएको प्रमुख प्रशासकीय प्रमुख नरेन्द्रनहादुर खातीले बताए।

उनले गणित र विज्ञान विषयमा एनजी ग्रेड आएका विद्यार्थीहरूका लागि कक्षा चलाउन विद्यालयहरूलाई विद्यार्थी संख्या र पिरियडको आधारमा अनुदान उपलब्ध गराउने बताएका छन्।

ग्रेड वृद्धि दिने विद्यार्थीलाई परीक्षामा ग्रेड बढाउन सहज होस् भनेर हरेक विद्यालयले शिक्षकलाई प्रोत्साहन स्वरुप भत्ता दिन मिल्ने हिसाबले अनुदान निकासा गरिने खातीले बताएका छन्।

गणित र विज्ञान विषय पढ्न चाहने विद्यार्थीको संख्या शिक्षा महाशाखामा पठाउन विद्यालयलाई सजिलो होस् भनेर उपमहानगरपालिकाले क्युआर कोड समेत सार्वजनिक गरेको छ।

clock बुधबार १९, असार २०८१ १४:५२

प्रतिक्रिया