गोदावरी नगरपालिका अत्तरियाले किन्यो १२ थान मोबाइल

  बुधबार ०५, असार २०८१ १०:२६

धनगढी । कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) ले १२ थान मोबाइल खरिद गरेको खुलेको छ। स्टार मोबाइल ग्यालरीबाट नगरपालिकाले १२ थान मोबाइल खरिद गरेको पाइएको हो।

कुनै औचित्य कायम नहुने गरेर नगरपालिकाले एक लाख ३६ हजार १७० रपैयाँ खर्चेर मोबाइल खरिद गरेको छ। जबकी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ (६) अनुसार बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्य दक्षता, प्रभावकारीता र औचित्य समेत कायम गरेर खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।

तर गोदावरी नगरपालिकाले भने यस्ता कुनै विषयको अध्ययन र विश्लेषण नगरेरै राज्यकोषको रकम दुरुपयोग हुने गरेर मोबाइल मात्र नभएर साइकलमा समेत खर्च गरेको पाइइएको छ। नगरपालिकाले थप ८८ हजार तीन सय ८ रुपैयाँ खर्चेर ९ थान साइकल खरिद गरेको समेत फेला परेको छ।

गोदावरी नगरपालिका वडा नम्बर १२ का महिला स्वास्थ्य स्वयमसेविकालाई स्टार मोबाइल ग्यालरीबाट ९७ हजार ७ सय रुपैयाँ खर्चेर १० थान मोबाइल खरिद गरेर वितरण गरिएको छ। त्यस्तै वडा नम्बर ९ का महिला स्वास्थ्य स्वयमसेविकालाई ४९ हजार ४७० रुपैयाँ खर्चेर २ थान मोबाइल खरिद गरेर वितरण गरेको पाइएको छ।

यसैगरी वडा नम्बर ५ का महिला स्वास्थ्य स्वयमसेविकालाई ८८ हजार तीन सय ८ रुपैयाँ खर्चेर ९ थान साइकल खरिद गरेर वितरण गरेको समेत फेला परेको छ। त्यस्तै बिल भरपाई नगरेरै गोदावरी नगरपालिकाले गोदावरी गुरुकुल संस्कृति विद्यापीठलाई फर्निसिङ्ग व्यवस्थापनको नाममा ५० हजार भुक्तानी दिएको छ।

त्यस्तै लागत अनुमान र दरभाउपत्र माग नगरेरै नगरपालिकाले न्यु विश्वास फिल्मर्स तथा भिडियोग्राफी सेन्टरलाई चार लाख २५ हजार भुक्तानी दिएको छ। जुन सार्वजनिक खरिद ऐन विपरीत गरिएको भुक्तानी रकम हो।

clock बुधबार ०५, असार २०८१ १०:२६

प्रतिक्रिया