सुदूरपश्चिम प्रदेश तहमा किताबखानाको काम आरम्भ
धनगढी । निजामती कर्मचारीका लागि राष्ट्रिय किताबखाना (निजामती)ले गर्दै आएको काम सुदूरपश्चिम प्रदेश तहबाट पनि आरम्भ भएको छ।
राष्ट्रिय किताबखाना (निजामती), ललितपुरले सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको प्रदेश किताबखानालाई कर्मचारी सूचना प्रणालीको पहुँच हस्तान्तरण गरेसँगै सुदूरपश्चिम प्रदेश तहमा किताबखानाको काम कार्यान्वयनमा आएको हो।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेशका सचिव विमलप्रसाद बरालबीच दुई दिनअघि यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
योसँगै प्रदेश सरकारका र स्थानीय तहका कर्मचारीले विभिन्न विवरणहरु अद्यावधिक गर्नेलगायतका कामका लागि राष्ट्रिय किताबखाना ९निजामती०ललितपुरमा पुग्नुपर्ने बाध्यता हटेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझाले किताबखानाको काम प्रदेश तहबाट सुरु भएसँगै कर्मचारीहरुले अब केन्द्रमा पुग्नुपर्ने बाध्यता हटेको बताए।
उनले भने, “प्रदेशको कानुनमा किताबखाना स्थापनाको व्यवस्था गरेको छ, तर हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलयको कर्मचारी अभिलेख शाखालाई यो कामको जिम्मेवारी दिइएको छ।” निजामती कर्मचारीले कर्मचारी विवरण अद्यावधिक गर्ने, सङ्गठन तथा पद दर्ता गर्ने, अशुद्ध विवरण शुद्ध पार्ने, शिटरोल दर्ता, निवृत्त कर्मचारी परिचयपत्र, सम्पति विवरण दर्ता तथा व्यवस्थापनलगायतका कामका लागि ललितपुरमा रहेको राष्ट्रिय किताबखानामा पुग्नुपर्ने बाध्यता थियो।
राष्ट्रिय किताबखाना ९निजामती० सम्पूर्ण निजामती कर्मचारीको व्यक्तिगत विवरण राख्ने निकाय हो। किताबखानाले सङ्गठन तथा पद दर्ता, शिटरोल दर्ता, सङ्केत नम्बर जारी, कर्मचारी विवरण अद्यावधिक गर्ने, तलबी प्रतिवेदन पारित गर्ने, विवरण उपलब्ध गराउने, अशुद्ध विवरणको शुद्धीकरण गर्ने, कर्मचारी विवरण संशोधन गर्ने, निवृत्त कर्मचारी परिचयपत्र, सम्पत्ति विवरण दर्ता तथा व्यवस्थापन, उपदान अङ्क किटान पत्र जारी, सञ्चित बिदा तथा उपचार सुविधाको किटानी पत्र जारी, पारिवारिक निवृत्तिभरण र उपदान पत्र जारीलगायतका काम गर्ने गर्दछ।
प्रतिक्रिया