सुदूरपश्चिममा खगराजलाई नै दल नेता बनाउन प्रचण्डको उर्दी, मन्त्री यथावत रहने

  मङ्गलबार ०४, असार २०८१ १५:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिएका छन्। माओवादीका सबै प्रदेशका माननीयहरुलाई काठमाडौं बोलाएर गरिएको बैठकमा पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन्।

बैठकमा सहभागी प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रचण्डले दल नेता भट्टलाई बनाउनु भनेर निर्देशन दिएको जानकारी दिए। यस्तै हालै पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन आएको उनले बताए।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। यस अगाडि सुरुमा दल नेता रहेका भट्टलाई बहुमतको निर्णयबाट हटाएर अर्का माननीय मानबहादुर धामी दल नेता बनेका थिए।

त्यसपछि दलमा २ धारसमेत भएको बताइएको थियो। सोही क्रममा भट्टले दल नेताबाट हटाइएपछि चर्को असन्तुष्टि पोखेका थिए।

उनको असन्तुष्टि र पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको सहभागितालाई लिएर विवाद चर्कदै गएपछि प्रचण्डले पार्टी प्रदेश इञ्चार्जसहित सबै सांसदलाई काठमाडौं बोलाएका थिए।

सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन्। १० जनामध्ये ५ जना दल नेता धामीको पक्षमा र ५ जना खगराज भट्टको पक्षमा देखिएका छन्।

clock मङ्गलबार ०४, असार २०८१ १५:१९

प्रतिक्रिया