कञ्चनपुरको लालाझाडी गाउँपालिकाले एकैदिन पचायो ११ पटक बैठक भत्ता

  शनिबार ०१, असार २०८१ १४:२७

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाले सरकारी बजेटको चरम दुरुपयोग गरेको फेला परेको छ। गाउँपालिकाले एकैदिन ११ पटक बैठक राखेर ११ पटक नै भत्ता बुझेको फेला परेको हो। २०७९ भदौं १६ गते ८२ जनाले ११ पटक भत्ता पचाएका छन्। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ को उपनियम ५ मा जिम्मेवार व्यक्तिले खर्च लेख्नुअघि त्यस्तो रकम खर्च गर्न वा भुक्तानी दिन आवश्यक बिल भरपाई र कागजात संलग्न भए नभएको भुक्तानी दिन रित पुगे नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ।

तर लालझाडी गाउँपालिकाले भने सो नियमावली र उपनियमको समेत कुनै ख्याल नगरेरै एकैदिन ११ वटा बैठक राखेर ११ पटक बजेटको चरम दुरुपयोग हुने गरेर भत्ता बाँडेको छ। लालझाडी गाउँपालिकाले पदपुर्ति समितिको बैठक वाफत एकैदिन पटकपटक गरेर ११ वटा बैठक राखेको फेला परेको छ। साथै ११ पटक नै भत्ता समेत बाँडेको छ।

२०७९ भदौ १६ गते दिउँसो ४ः४५ मा ८ जना राखेर बैठक गरेको १० हजार दुई सय, दिउँसो ४ः३० मा ९ जनाको बैठक राखेर ११ हजार ४७५, ४ः१५ मा पाँच जनाको बैठक राखेर ६ हजार ३७५ र फेरी दिउसो ४ बजे बैठक राखेर ६ हजार ३७५ रुपैयाँ भत्ता बाँडिएको छ।

सोही दिन दिउँसो ३ः२० मा ९ जनाको बैठक राखेर ११ हजार ४७५, दिउँसो १ः१५ बजे ५ जनाको बैठक राखेर ६ हजार ३७५, विहान ८ बजेट ५ जनाको बैठकर राखेर ६ हजार ३७५, मध्यान्ह १२ः५० मा ९ जनाको बैठक राखेर ११ हजार ४७५, १२ः३५ मा फेरी ९ जनाको बैठक राखेर ११ हजार ४७५ रुपैयाँ भत्ता रकम बाँडिएको छ। 

त्यस्तै सोही दिन नै विहान ९ः२५ मा ९ जनाको बैठक राखेर ११ हजार ४७५ र विहान ९ जनाको बैठक राखेर ११ हजार ४७५ गरेर एकैदिन एक लाख चार हजार ५५० रुपैयाँ नियमावली विपरीत सो गाउँपालिकाले भत्ता बाँडेको हो।

clock शनिबार ०१, असार २०८१ १४:२७

प्रतिक्रिया