बाल्मिकीले एक लाख पुरस्कार राशीको फुटसल प्रतियोगिता गर्ने

  शुक्रबार ३२, जेठ २०८१ १०:३४

धनगढी । धनगढीमा रहेको बाल्मिकी इन्टरनेशनल स्कूलले आगामी असारमा फुटसल प्रतियोगिता गर्ने भएको छ । ५ देखि १० असारसम्म कर्पोरेट तथा एसइइ फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिएको स्कूलले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

कर्पोरेटतर्फको उपाधि विजेता टीमले एक लाख र उपविजेताले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने विद्यालयका अध्यक्ष दिनेशराज भण्डारीले जानकारी दिए । महिला र पुरुष दुवै विधातर्फ हुने यो प्रतियोगितामा ३० वर्ष उमेर माथिका खेलाडीले सहभागी हुन पाउने उनले बताए ।

त्यस्तै एसइइ कपको विजेता टीमलाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ । एसइइ दिएका बसिरहेका विद्यार्थीलाई लक्षित गरेर उनीहरुलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरस्वरुप प्रतियोगिता आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । 
विद्यालयका अनुसार छात्रछात्रातर्फ हुने यो विधामा एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरु परिचयपत्रका आधारमा सहभागी हुन पाउने छन् ।

‘शिक्षासँगै स्वास्थ्यलाई ध्यानमा राखेर फुटसल प्रतियोगिता गर्न लागेका हाँै’ अध्यक्ष भण्डारीले भने, ‘विद्यार्थीका लागि यो आफ्नो क्षमता देखाउने अवसर पनि हो ।’ 

विद्यालयले टीम दर्ता खुला गरेको छ । कर्पोरेटतर्फ २० वटा टीमको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष भणडरीले बताए । धनगढीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने उद्देश्यसहित तीन वर्षअघि बाल्मिकी इन्टरनेशन स्कूल सञ्चालनमा आएको थियो ।
     
      
     
     

clock शुक्रबार ३२, जेठ २०८१ १०:३४

प्रतिक्रिया