टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई राज्यले क्षतिपूर्तिसहित माफी दिनुपर्छ : रेशम चौधरी

  बुधबार ३०, जेठ २०८१ १६:०१

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारु समुदायका व्यक्तिहरूलाई उचित क्षतिपूर्ति दिएर राज्यले माफी माग्नुपर्ने बताएका छन् । 

काठमाडौंमा नेपाल समाजवादी पार्टीको बुधबार आयोजित स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले उक्त धारणा राखेका हुन् । उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनेलाई मुद्दा लगाइएको दाबी गरे । टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको पनि उनको भनाइ थियो ।

‘सबैभन्दा पहिला टिकापुर घटनामा जबर्जस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त मिलाउनुपर्छ । हाम्रो के अपराध थियो ? जसले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍यायो ? त्यो साढे ८ वर्ष जेल बस्नुपर्ने ? घाइतेलाई उठाएर उपचार गर्नेले आठ वर्षसम्म जेलको कालकोठीमा सड्नुपर्ने ? अब जाक्नेवालाको खोजिनीति गर्नुस्,' रेशम चौधरीले भने, 'घटना कसले गरायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छेको नाम भन्नुपर्छ भने हामी भनिदिन्छौँ । टिकापुरको अब नाम भन्ने बेला आएको छ । साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनिदिने ? महाधिवेशन नै नगर्ने पार्टीहरु वैध, पुसको कठ्याङ्ग्रिने जाडोमा जनताहरु आएर गरेको महाधिवेशन अवैध ?’

अहिलेको शासन पद्धतिबाट आफूहरू आजित भएको पनि चौधरीको भनाइ थियो ।

clock बुधबार ३०, जेठ २०८१ १६:०१

प्रतिक्रिया